जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा किसानहरूले आत्माहत्या गर्नुपर्ने अवस्थामा सिर्जना हुँदै गएको बताएका छन् । समाजवादी किसान महासंघ केन्द्रिय समितिद्वारा सप्तरीको राजविराजमा शनिबार आयोजित मधेश प्रदेश स्तरीय प्रादेशिक भेला तथा पुनर्गठन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
फुल रोपेर सम्मजवादी किसान महासंघको प्रादेशिक भेला उद्घाटन गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुरे क्ष्रेत्रमा उत्खनन गरि गिट्टी, बालुवा विदेश निर्यात गरि बन विनाश गर्दा पानीको सतह गहिरो हुँदै गएकोले निकट भविष्यमै किसानहरूले सिचाइको ठूलो मार खेप्नुपर्ने बताए ।
चुरे विनाशले तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको र पानीको श्रोत विस्तारै सुक्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले चुरे संरक्षण नहुँने हो भने त्यसको प्रत्येक्ष प्रभाव पशुपालन र कृषि क्षेत्रमा पर्न गइ किसानले आत्महत्या गर्नुपर्ने दिन आउन सक्ने बताए ।
सम्मजवादी किसान महासंघको मधेश प्रदेशकोको प्रादेशिक भेला तथा पुनर्गठन कार्यक्रममा मन्चासिन अध्यक्ष यादवसहित अतिथिगण । फोटो : न्यूज टुडे
कृषि उर्वर भुमी मधेश मरुभूमिमा परिणत भई पानी खान नपाएर पशुचौपाया मर्न थाल्ने र त्यसको मार किसानहरुले खेप्नुपर्ने बताउँदै अध्यक्ष यादवले पर्यावरणलाई सन्तुलन राख्न चुरे संरक्षणमा जोड दिए ।
उनले राज्यको विभेदकारी नीतिका कारण कृषि क्षेत्र पछाडि परेकोले कृषि नीतिमा पुरै परिबर्तन नभएसम्म कृषि क्षेत्र समृध्द र सबल नहुने टिप्पणी गरे ।
“देशका ८० प्रतिशत जनता कृषिमा पेशामा छन्, तर राज्यले ४- ५ प्रतिशत मात्र कृषिमा बजेट विनियोजन गर्छन् , उनले भने, राज्यले किसान र कृषि क्षेत्रलाई महत्त्व नदिँदा कृषि क्षेत्र ध्वस्त हुन पुगेको छ । “
अध्यक्ष यादवले कृषी उत्पादन बढाउन र कृषिमा आत्मा निर्भर बन्नका लागि राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए । कृषिमा लगानी कम हुँदा सिंचाइ, मलखाद, विउविजन जस्ता किसानहरूले अहिले अभाव खेप्नुपरेको उनको भनाइ छ ।
बर्तमान कृषि नीतिले किसानले सोचेजस्तो उत्पादन लिन नसक्ने दाबी गर्दै अध्यक्ष यादवले जमिनलाई चकलाबन्दी गरि कृषिमा आधुनिकीकरण गर्दै विज्ञान, प्रविधि र आधुनिक उपकरणको प्रयोग गरि उत्पादन बढाउन राज्यको कृषि नीति परिबर्तन गर्नुपर्नेमा जोड दिए ।
“कृषि उत्पादनमा ह्रास आउँदा त्यसको असर उधोग व्यवसायमा समेत पर्न गएको छ, अध्यक्ष यादवले भने, उधोग व्यवसाय बर्वाद भएको छ, राज्यको गलत नीति र किसानप्रति आग्रह पुर्वाग्रहले कृषि क्षेत्र उपेक्षित भएको छ ।”
मुलुकमा रहेको अभाव र बेरोजगारी समस्या अन्त्य गर्न कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र समृध्द र सम्पन्न बनाउनुपर्ने उनको जोड थियो ।
अध्यक्ष यादवले ३० – ३५ बर्ष पहिले बंगलादेश, कोरियासहितका अन्तर्राष्ट्रिय मुलकमा कृषी उपज निर्यात गर्ने नेपालले अहिले लसुन, प्याज र खाद्यान्न भारत सहितका छिमिकी मुलुकबाट आयात गर्नुपर्ने स्थितमा पुग्नु दुर्भाग्य भएको बताए ।
अध्यक्ष यादवले सरकारको स्वामित्वमा रहेको दुग्ध विकास परियोजनाले किसानहरूलाई करोडौं भुक्तानी रोकि ठगिरहँदा समेत सरकार गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले आन्दोनरत किसानहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले किसानको समस्या बुझ्ने कोहि नभएकोले संगठित भएर संघर्ष गर्नुको विकल्प नरहेको बताए । कृषि क्षेत्रमा देखिएको वेथिती र विभेद तथा भेदभाव विरुद्ध गोलबद्व हुन उनले किसानहरुलाई आग्रह गरे ।
जनता समाजवादी पार्टी मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले किसानहरुको समस्याप्रति राज्य उदासीन देखिएको बताए । उनले प्रदेशिक भेलाले किसानहरूको पक्षमा ल्याउने नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयनका लागि पार्टीले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीति समिति सदस्य कैलाश यादव, केन्द्रिय सदस्यहरु विकास तिवारी, विदेश्वर प्रसाद यादव विक्की,शैलेन्द्र मोहन झा, सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिलादेवी साह, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
समाजवादी किसान महासंघका केन्द्रिय उप-महासचिव तब्रेज अहमदद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष उम्म्देवर दासले गरे ।
दुइदिनसम्म जारी रहने भेलाले मधेश प्रदेश स्तरीय समिति पुनर्गठन गर्ने राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष एवम् भेलाका प्रतिनिधि हरेराम यादवले जानकारी दिए ।