न्यूज टुडे
राजविराज, १७ फागुन ।
दुधको बक्यौता भुक्तानीसहितको विभिन्न ११ सुत्रीय माग राखी आन्दोलनरत किसानहरूले बिहीवार पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खडकखण्डमा १ घण्टा चक्काजाम गरेको छ । दुग्ध उत्पादक सहकारी संघ लिमिटेड सप्तरीको नेतृत्वमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध गर्दै किसानहरुले सडक विचमै बसेर प्रदर्शन गरेको हो ।

किसान मार्न पाइदैन,कृषि मन्त्री राजिनामा दे, दुधको भुक्तानी अविलम्ब गरसहितका विभिन्न नारा उल्लेखित प्लेकार्डसहित सडक प्रदर्शनमा उत्रिएका संघका पदाधिकारी तथा किसानहरुले सरकार दूध उत्पादकको समस्या समाधानप्रति गम्भीर नभएको भन्दै आक्रोश पोखे ।
सडक विचमै त्रिपाल ओछ्यार किसानहरूले प्रदर्शन गरेपछि लामो तथा छोटो दुरिमा चल्ने सयौं सवारी साधनहरु सडकमै रोकिएको छ भने हजारौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।
आन्दोलनकारीहरुले यात्रुहरुलाई महि खुवाएर आन्दोलनमा समर्थन गर्न आग्रह समेत गरेका थिए ।
दुग्ध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष दिपेन्द्र कुमार आचार्यले नेपाल सरकार दूध उत्पादक किसानहरूको समस्या समाधानमा गम्भीर नभएको आरोप लगाए । विराटनगर आयोजनाले करोडौं रुपैया किसानहरूको दुधको भुक्तानी रोकेकाले कारबाहीका लागि संघीय सरकारका कृषि मन्त्रीलाई भेटेर हारगुहार गरेको बताउँदै उनले किसानको माग सम्बोधनमा चासो नदिने कृषिमन्त्रीले तुरुन्तै पदबाट राजिनामा दिनुपर्ने माग गरे । उनले शान्तिपुर्ण आन्दोलनबाट सुनुवाइ नभए केन्द्रिय दुग्ध सहकारी संघले आव्हान गरेको आन्दोलनमा समर्थन गर्दै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
संघका पुर्व अध्यक्ष एवम् किसान भुवन आचार्यले विराटनगर दुग्ध विकास आयोजनाले ८ महिनादेखि करोडौं भुक्तानी नदिएकोले आन्दोलनमा उत्रिनु बाध्य भएको बताए । किसानप्रति हेर्ने सरकारको दृष्टिकोण ठिक नभएको टिप्पणी गर्दै उनले सरकारले समेत किसानको कुरा नसुनेपछी सबै कामकाज थाँती राखेर सडक संघर्षमा उत्रिनु परेको बताए ।
आदर्श दुग्ध विकास सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदीले सप्तरीमा मात्र किसानहरूको ४ करोड भुक्तानी विराटनगर आयोजनाले रोकेको बताए । आफुहरुको समस्या बारे नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि चक्काजामसहितको दवावमुलक चरणबद्ध आन्दोलनमा जानू परेको उनले जानकारी दिए ।
दुग्ध किसानहरूको सहकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजना लगायतका अन्य निजि डेरी उधोगीहरुले विगत ८ महिनादेखि ८ करोडभन्दा बढीको भुक्तानी बक्यौता यथाशीघ्र भुक्तानी गरियोस्, विभिन्न बहाना बनाएर आफुखुशी राखिएको मुल्य तुरुन्त खारेज गरि नेपाल सरकारले तोकेको मुल्य कायम गरियोस्, हाल किसानले घोषित तथा अघोषित रुपमा भोगी राखेको मिल्क होलि डे तुरुन्त बन्द गरियोस्, भन्सार विभागको तथ्यांक अनुसार २०८० श्रावण देखि पुस मसान्तसम्म १ अर्व ४३ करोड ८९ लाख २३ हजारको दुग्धजन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा अविलम्ब विक्री गर्ने व्यवस्था गरियोस्, दुग्ध किसानहरुलाई यस पेशामा जोगाई राख्न सहुलियत कृषि कर्जा एवम् तोकिएको ब्याज कृषि अनुदान कार्यक्रम उपलब्ध गराइयोस सहितको संघको माग छ ।
यसैगरी लागत मूल्य घटाउने कार्यक्रमहरु विगतमा दिइदै आएको दूध लिटर अनुदान कम्तीमा रु १० सबै पालिकामा सबै किसानले पाउने गरि लागू गरियोस्, पशु आहारा पशु औषधि लगायत पशुपालन संग सम्बन्धित बस्तुका मूल्य राज्यबाट अविलम्ब नियन्त्रण गरियोस्, बिमा कार्यक्रमलाई प्राथमिकता राखी विमाको दावी भुक्तानी सहज बनाइयोस, निर्यातित दुग्ध पदार्थमा अनुदानको व्यवस्था अविलम्ब गरियोस्, दूध तथा दुग्ध पदार्थ निर्यातको लागी खोरेत लगायतका रोग मुक्त घोषणा गरियोस्, सिमा क्षेत्रबाट अबैध रुपमा भित्र रहेको दूध तथा दुग्ध जन्य पदार्थको तस्करी तुरुन्त बन्द गरियोस्, गुणस्तरीय दूध उपभोक्ता समक्ष पुर्याउनको लागि आबश्यक प्रबन्ध गरियोस्, पशु आहारा पराल भुस आदिको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दु:ख अन्त्य गरियोस लगायतको संघले माग अगाडि सारेको छ ।
संघले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाउँदै फागुन १७ गते पुर्वपश्चिम राजमार्ग अन्तर्गत महुली खण्डमा दूध पोखेर दिउँसो १२ बजेदेखि १ बजेसम्म सडक जाम गर्ने, केन्द्रिय सहकारी संघले आव्हान गरेका अन्य सबै आन्दोलनमा सहभागी हुने साथै फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म जारी राख्ने संघर्षको कार्यक्रम सार्वजनिक गरेका थिए ।