इटहर्वा बजार सितापुर, कलौनी जग्गा प्रकरणमा मुछिएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी विरुद्ध सोमबार स्थानीयले विरोध र्याली प्रदर्शन तथा कोणसभा आयोजना गरेको छ । वेथिति, विसंगति विरुद्ध संघर्ष समिति अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा वडा नम्बर ६ स्थित महुलीमा अध्यक्ष चौधरी विरुद्ध चर्को नारावाजी गर्दै कोणसभा तथा विरोध जुलुस प्रदर्शन गरेको हो ।
अध्यक्ष विरुद्ध आयोजित कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक अरुण कुमार चौधरी । फोटो: न्यूज टुडे
वडा नम्बर १ स्थित घोघिदाहा खेलमैदानबाट संघर्ष समितीका अध्यक्ष अरुण कुमार चौधरीको नेतृत्वमा पालिकामा भएको वेथिती अन्त्य गर, इटहर्वा बजारसहितका पालिकाको सार्वजनिक जग्गा संरक्षण गर, भु-माफिया अध्यक्ष मुर्दावाद, स्वच्छाचारी निर्णय बन्द गर, सार्वजनिक जग्गा रोक्का फुकुवा सिफारिस फिर्ता गर, पालिकामा सुशासन कायम गर, लगायतका विभिन्न नारा लगाउदै निकालिएको विरोध जुलुस महुली बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै तुलसी थारु । फोटो: न्यूज टुडे
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले कार्यपालिका बैठकबाट रोक्का गरिएको जग्गा अध्यक्ष चौधरीले वडा अध्यक्षको अधिकार हरण गरि गरिएको सिफारिस अविलम्ब फिर्ता गर्न माग गरे । उनीहरुले शान्तिपुर्ण संघर्षका कार्यक्रम मार्फत माग सम्बोधन नभए फागुन १७ गते देखि गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिए । अध्यक्ष चौधरीका कारण गाउँपालिका अत्यन्तै बदनाम भएको बताउदै बक्ताहरुले अध्यक्ष चौधरीको व्यवहारले सिंह दरवारलाई स्याल दरवारमा परिणत गरेको टिप्पणी गरे ।
कोणसभामा बोल्दै इटहर्वा बजार व्यवस्थापन समिति सितापुर कलौनीका अध्यक्ष मिलन चौधरी । फोटो: न्यूज टुडे
संघर्ष समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कोणसभालाई नागरिक अगुवा तुलसी थारु, इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरी, स्थानीय युवा नेता सुदर्शन चौधरी, टेकराज भुजेल लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन पुर्व शिक्षक महेश चौधरीले गरेका थिए ।
अध्यक्ष चौधरीले बजारको विवादित जग्गा फुकुवा तथा चारकिल्ला सिफारिस गरेपछि बजार समितिको अगुवाइमा विगत १५ दिनदेखि आन्दोलन जारी रहेका थिए ।
आन्दोलनलाई थप सशक्त र निर्णायक बनाउन अग्नीसाईर कृष्णासवरन गाउँपालिका बेथिति, विसंगति विरुद्ध संघर्ष समितिका अध्यक्ष संयोजक र बजार समितिका अध्यक्ष सदस्य सचिब तथा संघर्ष समितिका र बजार व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरु सदस्य रहने गरि संघर्ष समिति गठन गरि आन्दोलनलाई निरन्तरता दिइएको बजार व्यवस्थापन समितीका सल्लाहकार योगेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।