गृहमन्त्री नारायण काजी श्रेष्ठले सप्तरीको खडक नगरपालिकाका भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेका छन् । राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीको समन्वय तथा खडक नगरपालिकाद्वारा सप्तरीको कल्याणपुरमा शनिबार आयोजित एक समारोहका विच भुमिहिन सुकुम्बासीहरुलाई गृहमन्त्री श्रेष्ठले लालपुर्जा वितरण गरेका हुन् ।
क्याम्पसको भवन उद्घाटन तथा लालपुर्जा वितरण कार्यक्रममा मन्चासिन प्रमुख अतिथि गृहमन्त्री श्रेष्ठसहित अतिथिगणहरु । फोटो:न्यूज टुडे
गृहमन्त्री श्रेष्ठले खडक नगरपालिका वडा नम्बर ६ का भुमिहिन सुकुम्बासीहरु देव कुमारी माझी, विनु कुमार थिङ, जिपछी कुमारी चौधरी, कविता कुमारी चौधरी,जुवेदा खातुन, मखबुल मियाँ, शलमा खातुन, भुलकु खातुन र सामु साहु हलवाईलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरे ।
क्याम्पस उद्घाटन तथा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठ । फोटो: न्यूज टुडे
जग्गाधनी प्रमाणपत्र वितरण गर्दै गृहमन्त्री श्रेष्ठले नेपाललाई सुकुम्बासी मुक्त देश बनाउने अभियानमा सरकार अगाडि बढेको बताए । अब देशमा कोहि नेपाली नागरिक भुमिहिन सुकुम्बासी नरहने बताउँदै उनले त्यसैको लागि सामान्ती शासनको अन्त्य गर्दै कठोर जनयुद्ध, जनआन्दोलन, मधेश तथा आदिवासी जनजाति आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गरे ।
रिवन काटेर क्याम्पसको नवनिर्मित भवन उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठ । फोटो:न्यूज टुडे
संघीयताले देश विकासमा ठूलो योगदान गरेको दावी गर्दै गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थालाई थप बलियो बनाउन संघीय शिक्षा ऎन, प्रदेश प्रहरी समायोजन ऎन लगायतका संघीय प्रणालीलाई सहयोग पुग्ने कानुन निर्माण सरकारले गरिहेको बताए ।
सामाजिक तथा आर्थिक रुपान्तरणका लागि देशमा सुशासन कायम हुनुपर्ने भन्दै गृहमन्त्री श्रेष्ठले बर्तमान सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम उठाएको जिकिर गरे ।
गृहमन्त्री श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गर्नेमाथि सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको बताउदै जालझेल गरि कसैले सार्वजनिक जगा कब्जा गरिएको पाईएमा उक्त जग्गालाई राष्ट्रियकारण गरेरै छोड्ने उद्घोष गरे।
मिटर व्याजी पीडितहरुको पक्षमा कानुन बनाएरै मेलमिलापको माध्यमले सरकारले समस्या समाधान गरिरहेको चर्चा गर्दै गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी लिएर थप मिटर व्याजी पीडितहरुको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मिटर ब्याज समस्या समाधान हुदैन भन्ने भ्रमलाई पालेर नराख्न पीडितहरुलाई आग्रह गरे ।
गृहमन्त्री सप्तरीमा आउँदा प्रयोग गरिएको सवारी साधनहरु । फोटो : न्यूज टुडे
उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले मावि कल्याणपुरको परिसर भित्र नवनिर्मित खडक बहुमुखी क्याम्पसको भवन समेत उद्घाटन गरे ।
भवन उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले क्याम्पसले छिट्टै संबन्धन पाउने विश्वास गरे । उनले क्याम्पसको बाँकी पुर्वाधार निर्माण कार्यमा संघीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरु । फोटो: न्यूज टुडे
खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत उपसचिव हरेन्द्र कुमार श्रेष्ठले गरेका थिए भने स्वागत नगर उपप्रमुख रिता कुमारी चौधरीले गरिन ।
उक्त समारोहमा मधेश प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, पुर्व संचार मन्त्री रुवि कर्ण, प्रदेश सभा सदस्य माला कुमारी कर्ण, पुर्व साँसद अशोक कुमार मण्डल, सुर्यनाथ यादव, लक्ष्मी चौधरी, राष्ट्रिय भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतका जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।