• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईरका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा तालाबन्दी

अग्नीसाईरका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा तालाबन्दी
न्यूज टुडे
राजविराज, ११ फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । बजारको रोक्का जग्गा फुकुवा गर्न सिफारिस गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको स्थानीयबासीले शुक्रबार अध्यक्ष चौधरीको कार्यकक्षमा ताला लगाएको  हो । 
तालाबन्दी गर्न गाउँपालिका प्रवेश गर्न खोज्ने आन्दोनकारीलाई मुलगेटमै रोक्दै प्रहरी । फोटो: न्यूज टुडे
अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न अगाडि बढेको स्थानीयबासीलाई प्रहरीले रोक्ने प्रयास गरेपछि केही बेर स्थिति तनावपुर्ण भएका थिए । प्रहरीको अबरोधका बाबजुद गाउँपालिका अध्यक्ष चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको वेथिती विसंगति विरुद्ध संघर्ष समितिका अग्नीसाईर कृष्णासवरन गाउँपालिका संयोजक अरुण कुमार चौधरीले बताए । पदिय मर्यादा विपरीत गरेको सार्वजनिक जग्गाको चारकिल्ला तथा फुकुवाको सिफारिसबाट पालिका अध्यक्ष पछि नहटे थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
गाउँपालिका अध्यक्षले भुल स्वीकार नगरेसम्म आन्दोलनको स्वरुप परिमार्जन गरि संघर्षको कार्यक्रमलाई निरन्तरता  दिने उनले जानकारी दिए ।  
आन्दोलनका पुर्व निर्धारित कार्यक्रम अन्तर्गत छैठो दिन शुक्रबार गाउँपालिका अध्यक्ष चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको बजार व्यवस्थापन समितिका सल्लाहकार योगेन्द्र प्रसाद चौधरीले बताए । गाउँपालिका अध्यक्षले गल्ती स्वीकार गरि जग्गा फुकुवाको सिफारिस रद्द नभएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।
जग्गा फुकुवा सिफारिस खारेज गर, सार्वजनिक सम्पति संरक्षण गर्ने ग्यारेन्टी गर, दिनानाथ चोर कुर्सी छोड, बोतलछाप अध्यक्ष दिनानाथ चौधरी मुर्दावाद,अध्यक्षलाई दारु प्यारो भो, कुर्सी घाँडो  भो, भुमाफिया अध्यक्ष मुर्दावाद लगायतको विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै स्थानीयले पालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 
बजार समितीद्वारा फागुन ६ गतेदेखि ८ गतेसम्म गाउँपालिका अगाडि धर्ना दिने, फागुन ९ गते गाउँपालिका कार्यालय घेराउ गर्ने, फागुन १० गते विरोध प्रदर्शन गर्ने,  फागुन ११ गते गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने र फागुन १३ गतेदेखि सम्पुर्ण कामकाज ठप्प हुने गरि अनिश्चितकालीन तालाबन्दी गर्ने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
आन्दोलनका कार्यक्रम अन्तर्गत १३ गतेको तालाबन्दीको कार्यक्रमलाई १७ गते सारिएको आन्दोलनमा सहभागी नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचिब तुलसी थारुले बताए । बजारको जग्गा विवाद सम्बन्धि गठित जिल्ला स्तरीय छानबिन समितिलाई सहयोग गर्न अनिश्चितकालीन तालाबन्दी कार्यक्रम ६ दिन पछाडि सारिएको उनले जानकारी दिए ।
छानबिन समितिको आग्रहमा अनिश्चितकालीन तालाबन्दीको कार्यक्रम तत्काल सारिएपनि माग सम्बोधन नभए १७ गते गाउँपालिकामा तालाबन्दी गर्ने आन्दोलनकारी राम चौधरीले बताए । 
पुर्वनिर्धारित संघर्षका कार्यक्रम अन्तर्गत विहिबारको विरोध प्रदर्शनमा पालिका प्रहरी र आन्दोलनकारी विच झडप भएको थियो । 
झडपमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ की ३० बर्षकी बसु चौधरी घाइते भएकी थिइन्  ।बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीमाथि पालिका प्रहरीले हातपात गरेपछि घम्साघम्सी हुँदा बसुको दाहिने हातमा चोट लागेको थियो ।
झडपमा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीको ओठमा समेत चोट लागेको थियो भने पालिका प्रहरीलाई समेत सामान्य चोट लागेको थियो । 
यस अघि स्थानीय बजारबासीहरुले गाउँपालिका कार्यालय अगाडि ३ दिनसम्म धर्ना  दिएका थिए भने गाउँपालिका घेराउ समेत गरेका थिए । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले इटहर्वा बजारको विवादित जग्गा भुमाफियाको प्रभावमा परेर फुकुवा गर्न मालपोत कार्यालय सप्तरीलाई पत्रचार गरेकोले निर्णय फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् । 
३४ बर्ष देखि हटियाले उपभोग गरेको सार्वजनिक जग्गा भुमाफियाले कब्जा गरेपछि विवादित अवस्थामा हुँदाहुँदै मालपोत कार्यालयले समेत रोक्का गरेको जग्गा गाउँपालिका अध्यक्ष चौधरीले फुकुवा गर्न पत्रचार गरेको विरोधमा आन्दोलनमा उत्रिएको बजार व्यवस्थापन समितिकी कोषाध्यक्ष लक्ष्मी कुमारी यादवले बताइन् । 
निर्णय फिर्ता गर्ने आश्वासन दिएपनि गाउँपालिका अध्यक्षले वेवास्था गरेकाले गाउँपालिका कार्यालय अगाडि धर्ना तथा तालाबन्दीसहितको अध्यक्षको विरुद्ध आन्दोलन गर्न  बाध्य भएको उनले जानकारी दिइन् ।
इटहर्वा बजार व्यवस्थापन समितिको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गतका विभिन्न राजनीतिक दलका केन्द्र प्रदेश, जिल्ला तथा स्थानीय नेताहरू, विभिन्न वडाका समाजसेवी बुद्धिजीवीहरु, महिला, युवाहरू तथा स्थानीयबासीहरुको सहभागिता रहेको जसपा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) का अध्यक्ष समेत रहेका स्थानीय श्याम कुमार चौधरीले जानकारी दिए । 
अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको साविक सितापुर गाविस वडा नम्बर ७( क)  कि.नं. ६५५ क्षेत्रफल १ बिघा २ कट्ठा १७ धुर धनुषा साविक पौडेश्वर गाविस वडा नम्बर ६ का ४१ बर्षिय शत्रुधन प्रसाद ठाकुरको नाममा दर्ता कायम रहेको छ । 
उक्त जग्गा विभिन्न जालझेल गरेर व्यक्तिको नाममा पास गरेको भन्दै २ नम्बर वडा कार्यालयले विगत ७ बर्षदेखी मालपोत रसिद काट्न रोकेका थिए । विवादित जग्गाको रसिद जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारी ठाकुरले वडा नम्बर ४ र ५ बाट मालपोत रसिद लिएको यसअघिनै सार्वजनिक भएको थियो । 
२०४४ सालमा तत्कालीन अञ्चलाधिश सुर्यबहादुर सेन वलीले उक्त बजारको उद्घाटन गरेका थिए । सोही जग्गा भुमाफियाहरुले २०७२ सालमा कब्जा गरि धनीपुर्जा लिएको स्थानीय बजारबासीको आरोप छ ।
उक्त प्रकरणमा गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समितिकी संयोजक कल्पना कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले अध्यक्षले गरेको पत्राचार अबैध ठहर गर्दै बदरका लागी भुमिसुधार तथा मालपोत कार्यालयमा पत्रचार गरेका छन् भने निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार ठाकुरले अध्यक्षले गरेको जग्गा फुकुवाको सिफारिस रद्द भएको पत्र पठाएका छन् ।