• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईरमा स्थानीयबासी र पालिका प्रहरी विच झडप,१ जना घाइते

अग्नीसाईरमा स्थानीयबासी र पालिका प्रहरी विच झडप,१ जना घाइते
न्यूज टुडे
राजविराज, १० फागुन ।
गाउँपालिका अध्यक्ष विरुद्ध आन्दोलनरत स्थानीयबासी र पालिका प्रहरी विच झडप हुँदा एक जना घाइते भएका छन् । बजारको रोक्का जग्गा सिफारिस गरेको भन्दै गाउँ पालिका अध्यक्ष दिनानाथ चौधरी विरुद्ध चरणबद्ध आन्दोलनमा रहेको स्थानीयबासी र पालिका प्रहरी विच झडप भएको हो । 
झडपमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ की ३० बर्षकी बसु चौधरी घाइते भएकी छिन् ।
बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीमाथि पालिका प्रहरीले हातपात गरेपछि घम्साघम्सी हुँदा बसुको दाहिने हातमा चोट लागेको आन्दोलनमा सहभागी बेचन मण्डलले बताए । 
झडपमा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीको ओठमा समेत चोट लागेको मण्डलले बताए ।
घाइते चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए ।  
झडपपछि गाउँपालिका तनावग्रस्त  स्थितमा पुगेको छ भने घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् । 
यसैगरी आन्दोलनकारीले गाउँपालिका प्रहरीलाई बोलाएर हातपात गरेको दावी गर्दै दुबैपक्ष विच सामान्य घम्साघम्सी मात्र भएको गाउँपालिकाले जनाएको छ । 

हाल आन्दोलनकारीहरुले गाउँपालिका अगाडि मुढामा आगो बालेर गाउँपालिका अध्यक्ष चौधरी विरुद्ध चर्को नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।   

जग्गा फुकुवा सिफारिस खारेज गर, सार्वजनिक सम्पति संरक्षण गर्ने ग्यारेन्टी गर, दिनानाथ चोर कुर्सी छोड, बोतलछाप अध्यक्ष दिनानाथ चौधरी मुर्दावाद,अध्यक्षलाई दारु प्यारो भो, कुर्सी घाँडो  भो, भुमाफिया अध्यक्ष मुर्दावाद लगायतको विभिन्न नारा लेखिएको प्लेकार्डसहित   प्रदर्शन गर्दै विहान  १० बजेदेखि स्थानीयले विरोध प्रदर्शन गरेका छन्। 
बजार समितिद्वारा घोषित चरणबद्ध संघर्षका कार्यक्रम अनुसार बिहीवार  गाउँपालिका अगाडि विरोध प्रदर्शन  गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन  चौधरीले बताए । गाउँपालिका अध्यक्षले गल्ती स्वीकार गरि जग्गा फुकुवाको सिफारिस रद्द नभएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । 
 बजार समितीद्वारा फागुन ६ गतेदेखि ८ गतेसम्म गाउँपालिका अगाडि धर्ना दिने, फागुन ९ गते गाउँपालिका कार्यालय घेराउ गर्ने, फागुन १० गते विरोध प्रदर्शन गर्ने,  फागुन ११ गते गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने र फागुन १३ गतेदेखि सम्पुर्ण कामकाज ठप्प हुने गरि अनिश्चितकालीन तालाबन्दी गर्ने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यस अघि स्थानीय बजारबासीहरुले गाउँपालिका कार्यालय अगाडि ३ दिनसम्म धर्ना  दिएका थिए भने गाउँपालिका घेराउ समेत गरेका थिए । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले इटहर्वा बजारको विवादित जग्गा भुमाफियाको प्रभावमा परेर फुकुवा गर्न मालपोत कार्यालय सप्तरीलाई पत्रचार गरेकोले निर्णय फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् । 
३४ बर्ष देखि हटियाले उपभोग गरेको सार्वजनिक जग्गा भुमाफियाले कब्जा गरेपछि विवादित अवस्थामा हुँदाहुँदै मालपोत कार्यालयले समेत रोक्का गरेको जग्गा गाउँपालिका अध्यक्ष चौधरीले फुकुवा गर्न पत्रचार गरेको विरोधमा आन्दोलनमा उत्रिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए ।
निर्णय फिर्ता गर्ने आश्वासन दिएपनि गाउँपालिका अध्यक्षले वेवास्था गरेकाले गाउँपालिका कार्यालय अगाडि धर्नासहितको अध्यक्षको विरुद्ध आन्दोलन गर्न  बाध्य भएको उनले जानकारी दिए ।
इटहर्वा बजार व्यवस्थापन समितिको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गतका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न वडाका बासीहरु, महिला तथा युवाहरू तथा स्थानीयबासीहरुको सहभागिता रहेको बजार व्यवस्थापन समितिका सचिब श्रावण चौधरीले जानकारी दिए ।  
अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको साविक सितापुर गाविस वडा नम्बर ७( क)  कि.नं. ६५५ क्षेत्रफल १ बिघा २ कट्ठा १७ धुर धनुषा साविक पौडेश्वर गाविस वडा नम्बर ६ का ४१ बर्षिय शत्रुधन प्रसाद ठाकुरको नाममा दर्ता कायम रहेको छ । 
उक्त जग्गा विभिन्न जालझेल गरेर व्यक्तिको नाममा पास गरेको भन्दै २ नम्बर वडा कार्यालयले विगत ७ बर्षदेखी मालपोत रसिद काट्न रोकेका थिए । विवादित जग्गाको रसिद जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारी ठाकुरले वडा नम्बर ४ र ५ बाट मालपोत रसिद लिएको यसअघिनै सार्वजनिक भएको थियो । 
२०४४ सालमा तत्कालीन अञ्चलाधिश सुर्यबहादुर सेन वलीले उक्त बजारको उद्घाटन गरेका थिए । सोही जग्गा भुमाफियाहरुले २०७२ सालमा कब्जा गरि धनीपुर्जा लिएको स्थानीय बजारबासीको आरोप छ ।
उक्त प्रकरणमा गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समितिकी संयोजक कल्पना कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले अध्यक्षले गरेको पत्राचार अबैध ठहर गर्दै बदरका लागी भुमिसुधार तथा मालपोत कार्यालयमा पत्रचार गरेका छन् भने निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार ठाकुरले अध्यक्षले गरेको जग्गा फुकुवाको सिफारिस रद्द भएको पत्र पठाएका थिए ।