न्यूज टुडे
राजविराज, ९ फागुन ।
मातृभाषा संरक्षणका गर्नको लागि सरकारी कामकाजको भाषा बनाउनुपर्ने राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।इन्टेलेक्चवल फाउन्डेसन नेपाल सप्तरीद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले उक्त जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै बक्ताहरुले राज्यको विभेदकारी नीतिका कारण मातृभाषाहरु लोप हुँदै गएको बताए । एकभाषा एक संस्कृतिको नीतिले नेपालमा बोलिने विभिन्न भाषाको प्रबर्द्धन हुन नस्केको बताउँदै बक्ताहरुले हाल नेपाल सरकारले मातृभाषा संरक्षणका लागि ल्याएको ऎन कानुनलाई टेकेर मातृभाषालाई स्थान दिदै जानुपर्नेमा जोड दिए ।
मातृभाषाबाट लोकसेवा आयोगलगायतको परिक्षा लिनुपर्नेमा जोड दिदै उनीहरुले परिक्षा प्रणालीमा मातृभाषालाई मान्यता दिनसके आफै मातृभाषा स्थापित हुने तर्क गरे ।

सरकारले मातृभाषा संरक्षण गर्ने नीति ल्याएपनि व्यवहारमा खासै देखिन नसकेको उल्लेख गर्दै बक्ताहरुले विद्यालय स्तरमा लागू गरिएको मातृभाषा शिक्षालाई प्रभावकारी बनाउन राज्यको तर्फबाट प्रथामिकताकासाथ आबश्यक श्रोत, साधन र जनशक्ति परिचालन गर्नुपर्ने आबश्यकता औल्याए ।
मातृभाषाको विकासका लागि स्थानीय सरकारको अत्यान्तै महत्त्वपूर्ण भुमिका रहेको बताउदै बक्ताहरुले स्थानीय सरकारले मातृभाषाको संरक्षणमा खासै चासो नदिएको गुनासो गरे ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री मातृका प्रसाद यादवले मातृभाषा प्रति राज्यले हेर्ने दृष्टिकोण खराब हुँदा यसको अपेक्षित विकास हुन नसकेको बताए । पहिचान र अधिकारका लागि संघर्षरत राजनीतिक दलहरू सत्ताप्राप्ति पछि मातृभाषालाई बिर्सिने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले मधेशका ठुला नेता आफुलाई कलाउनेहरु पाहाडी शासकको अगाडि लम्पसार हुने गरेकोले मातृभाषाको जगेर्नामा चुनौती आएको टिप्पणी गरे ।

इन्टेलेक्चवल फाउण्डेशन नेपाल सप्तरीका अध्यक्ष डा. सुर्यप्रसाद यादवको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका पुर्व प्राध्यापक एवम् भाषाविद्व डा. रामअवतार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुर्व निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष प्रधानाध्यापक देवेन्द्र मिश्रलगायतकाले मन्तव्य व्यक्त गरे ।
उक्त अवसरमा मैथिलीसहितका मातृभाषा संरक्षणमा योगदान गरेको भन्दै पुर्व मन्त्री मातृकाप्रसाद यादवले र पुर्वविधायक सुर्यनाथ यादवलाई कदरपत्रद्वारा सम्मान गरेका थिए ।

मन्त्री यादवले सपथ लिंदा इतिहासमै पहिलो पटक मातृभाषा लिएकोमा र विधायक सुर्यनाथ यादवले समेत मातृभाषामा मैथिलीमा सपथग्रहण लिएकाले उहाहरुले मातृभाषाको विकासमा अतुलनीय योगदान गरेकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

राजविराज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति पुर्व मन्त्री एवम् सप्तरी २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादव, संविधान सभा सदस्य लक्ष्मी चौधरी,आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, थारु कल्याण कारिणीसभा सप्तरीका अध्यक्ष शिव नारायण थारु, थारुभाषा कला संस्कृति संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष बुधसेन चौधरी, मैथिली साहित्य कलाप्रतिष्ठान सप्तरीकी अध्यक्ष रमिला देवी साह, प्राध्यापक, पत्रकारलगायतका विभिन्न समुदायका मातृभाषा अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मावि बेतहा भवानीपुर सिरहाका प्रधानाध्यापक रामविलास यादवले शिक्षामा मातृभाषा, औचित्य अवसर र चुनौती विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

जयप्रकाश यादवद्वारा संचालित कार्यक्रममा स्वागत राजेदेव यादवले गरे ।
उक्त अवसरमा स्थानीय कलाकारहरुद्वारा मातृभाषामा गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।