• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईरका अध्यक्ष विरुद्धको धर्ना जारी, बुधबार गाउँपालिका घेराउ 

अग्नीसाईरका अध्यक्ष विरुद्धको धर्ना जारी, बुधबार गाउँपालिका घेराउ 
न्यूज टुडे
राजविराज,  ८  फागुन । 
इटहर्वा बजार व्यवस्थापन समिति सितापुर, कलौनीद्वारा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी विरुद्ध थालिएको धर्ना कार्यक्रम मंगलबार समेत जारी रहेको छ ।  मालपोत कार्यालयले रोक्का गरेको बजारको जग्गा गाउँपालिका अध्यक्षले फुकुवा गर्न पत्राचार गरेको विरुद्ध स्थानीय बजारबासीहरुले गाउँपालिका कार्यालय अगाडि थालेको धर्ना कार्यक्रमलाई तेश्रो दिन समेत निरन्तरता दिएका हुन् । 
गाउँपालिका अध्यक्ष विरुद्ध धर्नामा बसेका स्थानीयबासीहरु । फोटो : न्यूज टुडे
जग्गा फुकुवाको सिफारिस तथा अध्यक्षको विकृति विसंगति, विरुद्ध पुर्व घोषित सातदिने चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रमलाई मंगलबार समेत निरन्तरता दिएको इटहर्वा बजार व्यवस्थापन समितिकी कोषाध्यक्ष लक्ष्मी कुमारी यादवले बताइन् । 
कार्यक्रम अन्तर्गत बुधबार गाउँपालिका कार्यालय घेराउ गर्ने दवावमुलक कार्यक्रम रहेको उनले जानकारी दिइन् । 
अध्यक्षले गरेको सिफारिस खारेज गरि बजारको सार्वजनिक सम्पत्तिको संरक्षणको ग्यारेन्टी नभएसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिइन् । 
“बजार समितिद्वारा घोषित संघर्षका कार्यक्रम अनुसार फागुन ६ गतेदेखि ८ गतेसम्म गाउँपालिका अगाडि धर्ना दिने कार्यक्रम सकिएको छ, उनले भनिन्, ९ गते गाउँपालिका कार्यालय घेराउ गर्ने कार्यक्रम छ, विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, पुर्वजनप्रतिनिधि, पत्रकार, कलाकार, पेशागत संगठनहरु तथा आम न्यायप्रेमी जनसमुदायको समर्थन पाइरहेका छौं । ” 
संघर्षका कार्यक्रम अनुसार फागुन १० गते विरोध प्रदर्शन गर्ने,  फागुन ११ गते गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने र फागुन १३ गतेदेखि सम्पुर्ण कामकाज ठप्प हुने गरि अनिश्चितकालीन तालाबन्दी गर्ने चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको बजार व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र कुमार झाले बताए । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले इटहर्वा बजारको विवादित जग्गा भुमाफियाको प्रभावमा परेर फुकुवा गर्न मालपोत कार्यालय सप्तरीलाई पत्रचार गरेकोले निर्णय फिर्ता गर्न माग गर्दै संघर्षमा उत्रिएको आन्दोलनमा सहभागी माओवादी नेता बेचन प्रसाद मण्डलले  बताए ।
३४ बर्ष देखि हटियाले उपभोग गरेको सार्वजनिक जग्गा भुमाफियाले कब्जा गरेपछि विवादित अवस्थामा हुँदाहुँदै मालपोत कार्यालयले समेत रोक्का गरेको जग्गा गाउँपालिका अध्यक्ष चौधरीले फुकुवा गर्न पत्रचार गरेको विरोधमा आन्दोलनमा उत्रिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए ।
निर्णय फिर्ता गर्ने आश्वासन दिएपनि गाउँपालिका अध्यक्षले वेवास्था गरेकाले गाउँपालिका कार्यालय अगाडि धर्नासहितका आन्दोलनमा उत्रिन बाध्य भएको उनले जानकारी दिए ।
“गाउँपालिका अध्यक्ष चौधरीले कार्यपालिकाबाट जग्गा रोक्का गर्ने निर्णय लिन्छौं भनेपछि यसअघिको तालाबन्दीको कार्यक्रम स्थगित गर्यौ, उनले भने, बैठक आव्हान समेत गरेपछि हामीपनि विश्वस्त भयौं तर अध्यक्ष चौधरीले विमारी भएको नाटक गरि बैठक नै स्थगन गरे ।”
गाउँपालिका अध्यक्ष चौधरीले झुक्याएकोले धर्नासमेतको अनिश्चितकालीन तालाबन्दीसहितको  १ हप्ताको चरणबद्ध आन्दोलनका कार्यक्रमसहित संघर्षमा उत्रनुपरेको बजार व्यवस्थापन समितिका सल्लाहकार योगेन्द्र प्रसाद चौधरी बताए । 
उनले शान्तिपुर्ण आन्दोलनका कार्यक्रमबाट माग सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । 
इटहर्वा बजार व्यवस्थापन समितिको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रियसचिब तुलसी चौधरीसहित अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गतका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न वडाका बासीहरु, महिला तथा युवाहरू तथा स्थानीयबासीहरुको सहभागिता रहेको बजार व्यवस्थापन समितिका सचिब श्रावण चौधरीले जानकारी दिए ।  
अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको साविक सितापुर गाविस वडा नम्बर ७( क)  कि.नं. ६५५ क्षेत्रफल १ बिघा २ कट्ठा १७ धुर धनुषा साविक पौडेश्वर गाविस वडा नम्बर ६ का ४१ बर्षिय शत्रुधन प्रसाद ठाकुरको नाममा दर्ता कायम रहेको छ । 
उक्त जग्गा विभिन्न जालझेल गरेर व्यक्तिको नाममा पास गरेको भन्दै २ नम्बर वडा कार्यालयले विगत ७ बर्षदेखी मालपोत रसिद काट्न रोकेका थिए । विवादित जग्गाको रसिद जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारी ठाकुरले वडा नम्बर ४ र ५ बाट मालपोत रसिद लिएको यसअघिनै सार्वजनिक भएको थियो । 
२०४४ सालमा तत्कालीन अञ्चलाधिश सुर्यबहादुर सेन वलीले उक्त बजारको उद्घाटन गरेका थिए । सोही जग्गा भुमाफियाहरुले २०७२ सालमा कब्जा गरि धनीपुर्जा लिएको स्थानीय बजारबासीको आरोप छ ।
उक्त प्रकरणमा गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समितिकी संयोजक कल्पना कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले अध्यक्षले गरेको पत्राचार अबैध ठहर गर्दै बदरका लागी भुमिसुधार तथा मालपोत कार्यालयमा पत्रचार गरेका छन् भने निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार ठाकुरले अध्यक्षले गरेको जग्गा फुकुवाको सिफारिस रद्द भएको पत्र पठाएका थिए ।
सोही आधारमा जग्गा  रोक्का फुकुवा तत्काल भएको तथा  कार्यपालिकाको निर्णय पठाउन मालपोत कार्यालयले भनेपछि विवाद पुन: बल्झिएको स्थानीयले जनाएको छ ।