• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा फागुन १३ देखि दादुरा रुवेला विरुद्धको खोप लगाइने

सप्तरीमा फागुन १३ देखि दादुरा रुवेला विरुद्धको खोप लगाइने
न्यूज टुडे
राजविराज, ७ फागुन । 
सप्तरीमा फागुन १३ गतेदेखि चैत २ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य इकाई कार्यालय सप्तरीद्वारा राजविराजमा सोमबार एक कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराएको हो । 
अन्तरक्रिया कार्यक्रममा मन्चासिन अतिथिगणहरु । फोटो : न्यूज टुडे
दादुरा रुवेला खोप अभियान खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुसंगको अन्तरक्रिया एवम् छ्लफल कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले फागुन १३ गतेदेखि चैत २ गतेसम्म खोप अभियान संचालन गर्ने बताए । 
अभियानलाई तीन चरणमा बाँडिएको बताउदै उनले पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म सप्तकोशी, कंचनरुप, हनुमान नगर नगरपालिका, तिरहुत, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा खोप लगाइने जानकारी दिए । 
अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिसहित पत्रकारहरु । फोटो : न्यूज टुडे
यसैगरी दोश्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म राजगढ,छिन्नमस्ता, विष्णुपुर, बलानविहुल गाउँपालिका र डाक्नेश्वरी बोदेबर्साइन नगरपालिकामा खोप अभियान संचालन हुने उनले बताए । 
यस्तै तेश्रो चरणको कार्यक्रम अन्तर्गत फागुन २७ गतेदेखि चैत २ गतेसम्म सुरुङ्गा, खडक, शम्भुनाथ, राजविराज नगरपालिका र रुपनी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा खोप अभियान संचालन गरिने जानकारी दिए । 
स्वास्थ्य इकाई कार्यालय सप्तरीका खोप सुपरभाइजर धिरेन्द्र प्रसाद साहले सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको बताए । 
जिल्ला भरी ८ सय ८ खोप केन्द्र स्थापना गरि १ हजार ६ सय १६ जना स्वास्थ्यकर्मी र २ हजार ४ सय ३२ जना स्वयंसेवक खटाइने उनले जानकारी दिए । 
खोप अभियानको स्वास्थ्य मन्त्रालय,स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, पत्रकार महासंघ तथा अन्य सरोकारवाला निकायहरुको उच्च स्तरीय टोलीद्वारा सहयोग एवम्  अनुगमन गर्ने कार्यक्रम रहेको उनले बताए । खोपबाट हुने सामान्य तथा गम्भीर असरलाई रोक्न जिल्लामा ३६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तयारी अबस्थामा रहने उनले जानकारी गराए । 
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि दिल बहादुर साहीले ९ महिनादेखि १५ बर्षमुनीका बालबालिकाहरुलाई खोप लगाइने बताए । उनले खोप बाहेकका सामग्रीहरु ४ दिन अगाडि नै पालिका पुर्‍याउने तथा खोप ढुवानी  कार्यक्रम संचालन हुनुभन्दा २ दिन अगाडि नै सम्बन्धित पालिकाका पुर्‍याउने जानकारी दिए । 
उनले दादुरा रुबेला आरएनए भाइरसबाट सर्ने संक्रामक रोग भएको र यो रोग सबै उमेर समुहमा लाग्ने भएकोले खोप अनिवार्य लगाउनु पर्ने आबश्यकता औलाए । पहिले लगाई सकेका बालबालिकाले समेत खोप लगाउनु पर्ने बताउदै उनले खोप लगाएको ९ महिनाको अन्तारालमा कुनैपनि बालबालिकालाई दोश्रो पल्ट खोप लगाउन सकिने जानकारी गराए । 
अभियान अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा सुक्ष्म योजना तर्जुमा गोष्ठी गर्ने,जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुसंगको अभिमुखिकरण तथा अन्तरक्रिया, खोप दिने स्वास्थ्य कर्मीहरुलाई अभिमुखिकरण, पालिका तथा वडा खोप समन्वय समितिसंग अभिमुखिकरण बैठक गर्ने, स्वयंसेविकाहरुलाई अभिमुखिकरण चरण अनुसार क्रमिक रुपमा गरिने कार्यक्रम अनुसार अभियानलाई तिब्रता दिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख झाले जानकारी गराए । 
कार्यक्रममा बोल्दै जिसस प्रमुख एवम् खोप संयोजक शिव नारायण साह । फोटो :न्यूज टुडे
जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रजिअ किरण थापाले खोप अभियानबाट बढीलाभ लिने किसिमले अगाडि बढ्नुपर्नेमा जोड दिए । 
शान्ति सुरक्षामा कमि आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रजिअ थापाले प्रचारप्रसार लगायतका कार्यमा पत्रकारहरुलाई सहयोग गर्न आग्रह गरे ।
 नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले खोप अभियानमा सप्तरीका पत्रकारहरु संगसंगै रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख विजय कुमार यादवले खोप अभियानलाई सफल बनाउन शिक्षा क्षेत्रबाट पुर्ण सहयोग रहेको बताए । 

कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्वी बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, गैसस महासंघ सप्तरीका उपाध्यक्ष बलदेव मण्डल, जिल्ला समन्वय समितिका सदस्यहरु,स्वास्थ्य स्वयंमसेविकाहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।