• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वडा अध्यक्षमाथि कुटपिट र लुटपाटको आरोप, कारबाही गर्न प्रहरीले आलटाल गरेको पीडितको गुनासो

वडा अध्यक्षमाथि कुटपिट र लुटपाटको आरोप, कारबाही गर्न प्रहरीले आलटाल गरेको पीडितको गुनासो
न्यूज टुडे
राजविराज, ५ फागुन । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गंगाराम यादवमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउन आलटाल गरेको पीडितहरुले गुनासो गरेका छन् । रुपनी गाउँपालिका वडा नम्बर ६ की ५० बर्षिय सुमरी देवी चौधरी र सोही ठाउँकी ५५ बर्षिय बच्चादेवी चौधरीले राजविराजमा शनिबार पत्रकार सम्मेलन गर्दै उक्त गुनासो गरेकी हुन् । 
वडा अध्यक्ष यादवसहितका समूहले आफुहरुमाथि निर्घात कुटपिट गरि घाइते बनाएको र कुटपिटको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको ३ साता वितिसक्दा समेत प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाएको उनीहरुले गुनासो गरे । 
जिल्ला प्रहरी कार्यालयमा पटकपटक धाउँदा समेत सुनुवाइ नभएको बताउँदै पीडितहरुले न्यायका लागि आग्रह गर्दा उल्टै प्रहरीले तथानाम भन्दै हप्काउँदै पठाउने गरेको बताइन् । 
“मैले आजभन्दा आठसाल पहिले वडा अध्यक्ष यादवकोमा १४ कट्ठा ४ धुर जग्गा धितो ( बन्धकी ) राखेर छोरीको बिहे खर्चका लागि २ लाख  ॠण लिएँ, सुमरी देवीले भनिन्, २ बर्षभित्रै २ लाख ५० हजार ॠण बुझाई दिएँ, तर बाँकी ॠण बुझाएर जग्गा फिर्ता माग्दा जग्गा फिर्ता गरेनन् । “
वडा अध्यक्ष यादवले मैले जग्गा किनेको भन्दै आफुलाई विभिन्न याताना दिने गरेको उनले दुखेसो पोखिन । 
अध्यक्ष यादवले जग्गा फिर्ता नगरेपछि न्यायीक समिति रुपनीमा मुद्दा दर्ता गरेको बताउँदै उनले २ बर्ष बित्दा समेत न्याय नपाएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीमा वडा अध्यक्ष यादव विरुद्ध मिटर व्याजी उजुरी गरेको जानकारी दिइन् । 
मिटर व्याज विरुद्ध उजुरी गरेको निहुँमा वडा अध्यक्ष यादवसहितको ५ – ६ जनाको समुह मिलेर गत माघ ७ गते वसविट्टी हुँदै घर जानेक्रममा आफुहरुमाथि बाटो घेरर कुटपिट गरेको उनले पत्रकार सम्मेलनमा बताइन् । कुटपिट गर्दै आफ्नो गलामा रहेको १० तोलाको चाँदीको सिक्री, नागरिकता,  मिटर व्याजको उजुरी दर्ता नम्बरलगायतको अति महत्त्वपूर्ण कागजपत्र समेत लुटपाट गरेको उनले बताइन् । 
इट्टा तथा मुक्काले अन्धाधुन्ध हान्दा अनुहार, टाउकोमा गम्भीर चोट लागेको देखाउँदै चौधरीले गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार  गराउँदा  खर्च भएको ५० हजार रुपैया ॠण काढेर बुझाएको बताइन् ।
“आफ्नो खेतबारी पनि उनैले हड्पेको छ, जनप्रतिनिधि र प्रहरी प्रशासनले पनि उनैलाई साथ दिन्छ, गहभरी आँसु झार्दै उनले भनिन्, न्याय खोज्न काँहा जानू, गरिवको बोलिदिने पनि कोहि हुदैन, कतै न्याय पाउन सकिनँ” 
प्रहरी कार्यालयमा न्याय पाउछु भनि विश्वास गरि जाँदा प्रहरीले नै झापड देखाउँदै कार्यालयबाट निस्किहाल भन्दै दुर्व्यवाहार गरेको उनले पत्रकार सम्मेलनमा बताइन् ।
आफू साह्रै अन्यायमा परेको बताउदै चौधरीले आफ्नो बन्धकी ( धितो ) जग्गा फिर्ता तथा कुटपिटमा संलग्न वडा अध्यक्ष यादवमाथि कारबाहीको निम्ति संचारकर्मी, मानवाधिकारकर्मी, स्थानीय प्रशासन तथा राजनीतिक दल, जनप्रतिनिधिलगायतका सम्पुर्ण सरोकारवालाहरुसंग सहयोगका लागि आग्रह गरिन । 
पत्रकार सम्मेलनमा बोल्दै अर्का घाइते बच्चादेवी चौधरीले कुटपिट गर्ने वडा अध्यक्ष यादवमाथि हदैसम्मको कारबाहीको माग गरिन । वडा अध्यक्ष यादवलाई  अविलम्ब पक्राउ गरि औषधि उपचार खर्च उपलब्ध गराउन उनले स्थानीय प्रशासनलाई आग्रह समेत गरिन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेले उक्त घटना सम्बन्ध दुबैपक्षलाई बोलाएर पटकपटक छ्लफल राखिएको बताए ।
“निवेदन आको छ, छलफल पनि चलिनै रहेको छ, डिएसपी नेउपानेले भने, दुबैपक्षविच सहमति हुन्छ, कसैमाथि काखापाखा हुदैन ।”
यसबारे झुझ्दा वडा अध्यक्ष यादवले आफुलाई बदनाम गर्ने नियतले निरधार आरोप लगाइएको बताए ।
 “चौधरीसंग जग्गा खरिद गरेर लिएको तथा उक्त जग्गामा ७ बर्षदेखी आफैले खेती गर्दै आएको बताउदै वडा अध्यक्ष यादवले बन्धकी ( धितो ) राखेको जग्गा भए उसले किन मलाई खेती गर्न दिएको भन्दै प्रश्न  गरे । “
उनीहरुलाई आफुले कुटपिट नगरेको समेत उनले दावी गरे ।