न्यूज टुडे
राजविराज, ११ माघ ।
सप्तरीको रुपनी गाउँपालिकाका पाँच कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौमा बिहिवार भ्रष्टाचार मुद्दा दायर भएको छ । स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरीसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रबक्ता नरहरि घिमिरेले बताए ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षा शाखा संयोजक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।
उनीहरूमाथि ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्याएको आरोप छ।
गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको प्रवक्ता घिमिरेले बताए।
आ.व. २०७७/०७८ मा सरकारले सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरूका लागि नि:शुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो।
त्यसको खरिदका लागि पालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ नियम ११ विपरीत काम गरेको पाइएको हो।
मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रूपमा लिई गर्नुपर्नेमा प्रचलित कानूनी व्यवस्थाको पालना नगरेको अख्तियारले जनाएको छ।
९ लाख ११ हजार ९ सय २५ रुपैयाँ पर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालिको प्याडलाई १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँमा खरिद गरेको देखाइएको थियो।
यसरी ८ लाख ७४ हजार ३ रुपैयाँको अस्वाभाविक रूपमा रकम बढी तिरेर भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ। अख्तियारले उनीहरूविरूद्ध बिगो रकम कायम गरी कैद र बिगो बमोजिमको जरिवाना माग गरेको छ।
न्यूज टुडे दैनिक र अनलाइनले स्यानेटरी प्याडमा अनियमितता भएको विषयलाई उठान गर्दै यसअघि निरन्तर समाचार सार्वजनिक गर्दै आएको थियो ।