आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र ( सिप्रेड) काठमाडौद्वारा सप्तरीको सप्तकोशी नगरपालिका ४ बर्लादहमा संचालित तीन दिवसीय परम्परागत खाना र अर्थव्यवस्था तालिम सम्पन्न भएको छ ।
सिप्रेडका कोषाध्यक्ष रुषा श्रेष्ठको अध्यक्षता तथा मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला पुर्व मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच बुधबार तालिम समापन गरिएको हो ।
थारु परिकार बनाउन सिक्दै तालिममा सहभागीहरु । फोटो: न्यूज टुडे
तालिम समापन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री लेखीले तालिमबाट सिकेको ज्ञानलाई व्यवहरिक जिवनमा लागू गर्न सहभागीहरुलाई आग्रह गरे । उनले आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण ,परम्परागत खानाको प्रबर्द्धन र आर्थिक रुपान्तरणका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिममा सिकेको ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिदै आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका लेखीले परम्परागत खानालाई स्तरीय बनाउदै व्यवसाय संचालन गर्न सहभागीहरुलाई आग्रह गरे ।
परम्परागत खाना र अर्थ व्यवस्था तालिमका सहभागीहरु । फोटो: न्यूज टुडे
उदयपुरका बेलका नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र कन्चनरुप नगरपालिकाका गरि ३० जना आदिवासी जनजाति समुदाय सहभागी तालिमको सहजीकरण सिप्रेडकी कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पा, कार्यक्रम कोर्डिनेटर नरेन्द्र लामा, कोषाध्यक्ष रुषा श्रेष्ठले गरेकी थिइन् ।
परम्परागत गित प्रस्तुत गर्दै स्थानीय थारु कलाकारहरु । फोटो: न्यूज टुडे
सप्तकोशी नगरपालिका ४ नम्बर वडा कार्यालयमा आयोजित तालिम समापन समारोहमा प्रमुख अतिथि पुर्व मन्त्री लेखीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमको संचालन आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)की फिल्ड अफिसर सरिता चौधरीले गरिन ।
उक्त अवसरमा स्थानीय थारु भाषाको परम्परागत गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।