न्यूज टुडे
राजविराज, २३ पुस ।
सप्तरीको राजविराज- रुपनी चारलेन सडक निर्माण कार्यमा रोक लगाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठको इजलासले सडक निर्माणको कार्यमा रोक लगाउन सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
सडक निर्माण हुँदै गरेको जग्गा राजविराज नगरपालिका वडा नम्बर ९ मलेठका बद्री यादव, विशाल सिंह , गुजाई यादवको हक स्वामित्व भित्रको रहेको ठहर गर्दै निजि हक स्वामित्वको जग्गा कानुन बमोजिम प्राप्त नगरी सडक निर्माणको कार्य नगर्नु- नगराउनु भनी विपक्षीको नाममा जारी अन्तरिम आदेशमा उल्लेख छ ।
आदेशमा जग्गाको साँधमा रहेको सडकको जग्गा प्राविधिकहरुबाट नाप नक्सा र सिमाङ्कन नभएसम्म सडक निर्माणको कार्य रोक्न भनिएको छ ।
सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश गरिएकोले उनीहरुलाई आदेशको जानकारी कानुन अनुसार अगाउन आदेशमा भनिएको छ ।
पुर्व क्षेत्रका बासिन्दाले तत्कालीन सडक निर्माणको क्रममा सडक विभागलाई प्रभावमा पारी आफ्नो निजि स्वामित्वको जग्गातर्फ सडक निर्माण गरिएकोले आफ्नो निजि जमिनमा सडक निर्माण कार्य रोकि पाउँ भनी जग्गाधनीहरुले माग दावी गरेका थिए ।