• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाँदर आतंकले किसान हैरान
न्यूज टुडे
राजविराज, १२ पुस ।
सप्तरीको चुरे क्षेत्र आसपासका बासिन्दाहरु बाँदर आतंकबाट हैरान भएका छन् । अग्नीसाइर कृष्णासवरन, रुपनी गाउँपालिका, खडक, सुरुङ्गा, कन्चनरुप, सप्तकोशी नगरपालिकाका किसानहरु बाँदर आतंकबाट हैरान भएका हुन् ।
चुरे जंगलबाट सयौंको संख्यामा आएको बाँदरको हुलले तरकारी बाली सखाप पारेको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का किसान श्याम कुमार चौधरीले बताए ।
“पाँच सयभन्दा बढीको संख्यामा बाँदर गाउँपसेर आँप बगैंचामा बासस्थान बनाएर बस्छ, उनले भने, विहान घाम झुल्किनु नपाउदै आहाराको खोजीमा घर-घरमा र किसानले लगाएको खेतबारी पसेर बालिनाली नष्ट गर्छ ।”
बाँदरको समुहले आफुले लगाएको १० कट्ठा तरकारी बाली खाएर नष्ट गरेको उनले बताए । बाँदरले आलु, काउली, मुलालगायतको तरकारी उखालेर र खाएर सखाप पारेको उनले जानकारी दिए ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ का किसान कपिलदेव मण्डलले सिंचाइ तथा मलखादको अभावसंग लडेर लगाइएको बाली बाँदरबाट जोगाउन मुस्किल भएको बताए ।
“वाली खान पल्केका बाँदरलाई जंगलतर्फ धपाउँदा जानै मान्दैन, उनले भने, गाउँबासी नै मिलेर बनतर्फ पुर्‍याउन नपाउँदै मान्छेभन्दा अगाडि फर्किन्छ, बाँदर आतंकले किसानसंगै पुरै गाउँबासी हैरान छन् ।”
बाँदरले मान्छे घरमा नभएको मौका पाउनसाथ घरभित्र पसेर पाकेको भातको भाँडा र अन्न बोकेर भग्ने गरेको रुपनी गाउँपालिका ६ का अशोक तामाङले बताए । बाँदरले हैरान गरेपछि बालिनाली लगाउन कम गरिएको उनले बताए । बाँदरले पुर्वपश्चिम राजमार्गभन्दा दक्षिणी क्षेत्रका बस्ती तथा खेतबारीमा लगाइएको बालीनाली बढी नष्ट गरेको बाँदर पीडितहरुले जनाएका छन् ।
गत २ बर्षदेखी बाँदरको समुह गाउँ-गाउँमा पाँचसय भन्दा बढी हुलकाहुल आउने गरेको स्थानीयहरु बताउछन् । बाँदर, हात्ती, निलगाई, बदेलसहितका जंगली जनावरले  हैरान गरेकोले चैनले बालिनाली उब्जाएर खान नदिएको उनीहरुको दुखेसो छ ।