विगत केही दिन यता सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ती सेलाउने क्रममा उत्पन्न द्वन्द्वका कारण सिर्जित प्रतिकुल अवस्थाले हामीलाई चिन्तित तुल्याएको छ , विज्ञप्तिमा भनिएको छ, दुई साता अघि कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुरु भएको विवाद साम्य भईसकेको अवस्थामा गत शुक्रबार साँझ गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडप भई घटनाले उग्र रुप लिँदै जानु अत्यन्तै दुःखद् हो । उक्त घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै द्वन्द्वरत दुवै पक्षलाई संयमित हुन आग्रह छ ।
विज्ञप्तिमा अहिलेको अवस्थालाई सहज बनाउनका लागि सम्वद्व सबै पक्षलाई आ-आफ्नो तवरले लागुपर्नेमा जोड दिएको छ ।
सामाजिक एकता र सद्भावको पक्षमा उभिन मलङ्गवाबासीलाई हार्दिक अपील गर्दछौं , प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, केही दिनयता अशान्त एवम् निरन्तर कर्फ्यु जारी रहेकोले अवस्था सहज बनाउनका लागि सम्वद्ध सबै पक्षलाई आ–आफ्नो तवरबाट गम्भीर बन्न आग्रह छ ।
विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुता सहित सामाजिक सद्भाव र एकताको पक्षमा रहँदैआएका छौं । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेकोले एक अर्काको धार्मिक गतिविधिमा अवरोध वा खलल पार्ने कार्य कोही कसैबाट हुनु हुदैन । जस्तोसुकै समस्या, बिमति र चुनौतीहरु वार्ता सम्वाद, सहमति, र सहकार्यबाट गर्न सकिने भएकोले यसतर्फ गम्भीर बन्न सम्वद्ध पक्षसँग आग्रह छ , विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष यादवले सोही विज्ञप्ति मार्फत संचारकर्मीहरुलाई द्वन्दलाई निरुपण गर्ने सन्तुलित समाचार संकलन गरि सकारात्मक भुमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।
सर्लाहीको मलङ्गवामा उत्पन्न द्वन्द्व र त्यसबाट सिर्जित घटनाहरुबारे विभिन्न सञ्चारमाध्यमहरुमा सम्प्रेषित समाचार तथा विचारहरु सन्तुलित रुपमा आइरहेकोले सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई धन्यवाद् दिन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ, आगामी दिनमा समेत मलङ्गवाको अवस्थालाई पुर्ववत रुपमा सहज एवम् सहिष्णु बनाउनमा आ–आफ्नो तवरबाट सकारात्मक भुमिका निर्वहनको लागि अनुरोध छ ।
मलङ्गवामा उत्पन्न द्वन्द्व र त्यसबाट सिर्जित घटनाहरुबारे फेसबुक, पेज, युट्युब, टिकटक, इन्टाग्राम लगायतका केही सामाजिक सञ्जालमा अतिरञ्जित, उत्तेजक, घृणा, द्वेष तथा द्वन्द्वलाई प्रोत्साहित गर्ने खालका भड्काउपूर्ण पोष्ट एवम् सन्देशहरु प्रवाह भईरहेको पाईएकोले यस्ता कार्य नगर्न नगराउन विज्ञप्तिमा मार्फत आग्रह गरिएको छ ।