अध्यक्ष दुष्यन्त चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बर्दिवास नगरपालिका १४ निवासी ‘न्यू बर्दिवास कम्प्युटर सप्लायर्स एण्ड इलेक्ट्रोनिक्स’ का संचालक कौशल महतोद्वारा दिइएको ज्यान मार्ने धम्की,दुर्व्यवहार तथा डरत्रासपूर्ण गतिविधिका घटनाको निन्दा गर्दै घोर भर्त्सना गरिएको छ ।
‘महतोले अज्ञात नम्बरबाट फोन गरि जहाँ भएपनि मार्छु, कहाँ छ्स भन’ जस्ता धम्कीपूर्ण अपशब्द प्रयोग गर्दै आफू र समुहसहित पत्रकार मण्डलको कार्यस्थलमै पुगेर त्रास सिर्जना गर्नु अत्यन्तै गम्भीर, आपत्तिजनक तथा दण्डनीय कार्य हो।’ महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’यस्ता गतिविधि केवल एक व्यक्तिमाथि मात्र नभइ सम्पूर्ण पत्रकारिता क्षेत्रमाथिको आक्रमण भएको हाम्रो ठहर छ ।’
सार्वजनिक सरोकारसंग प्रत्यक्ष सम्बन्धित विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको संबैधानिक अधिकार, पेशागत दायित्व तथा लोकतान्त्रिक उत्तरदायित्व भएको उल्लेख गर्दै विज्ञप्तिमा समाचार प्रकाशनकै आधारमा पत्रकारमाथि दबाब सिर्जना गर्नु ज्यान मार्ने धम्की दिनु तथा मानसिक आतंक फैलाउने प्रयास गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कानूनी शासनमाथिको गम्भीर हस्तक्षेप भएको बताइएको छ ।
‘समाचार लेखेकै कारण पत्रकारलाई धम्काउने, समाचार हटाउन दवाव दिने, त्रास सिर्जना गर्ने तथा पेशागत कर्तव्य निर्वाहमा अबरोध पुर्याउने कुनै पनि कार्य लोकतान्त्रिक मुल्य मान्यता विपरीत कदम हो भन्दै महासंघले यस्ता घटनालाई कुनै पनि हालतमा सामान्य रुपमा लिन नसकिने उल्लेख गर्दै पत्रकार मण्डललाई ज्यान मार्ने धम्की दिने महतोलाई अविलम्ब पक्राउ गरि कानूनी कारबाही अगाडि बढाउन स्थानीय प्रशासनसंग जोडदार माग समेत गरेको छ ।
‘पीडित पत्रकार मण्डलले न्याय नपाए आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिसहित सम्पूर्ण संगठन सशक्त संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिदै प्रदेश अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराइएको छ ।
महतोले २०८२ चैत २२ गते टक नेपाल अनलाइन टिभीमा प्रसारण गरेको समाचार सामाग्रीलाई लिएर ज्यानमार्ने धम्की दिएको पीडित पत्रकार मण्डलले बताएका छन् ।