न्यूज टुडे
राजविराज, ३१ भदौ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र साउदी अरबका राजदूत साद नासीर अब्दुल्लाह अबु हैमीदबीच भेटबार्ता भएका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार उनीहरु विच शिष्टाचार भेटवार्ता भएका हुन ।
भेटवार्तामा नेपाल र साउदी अरबबीचको सुमधुर सम्बन्धका विविध आयामहरुबारे छलफल भएको छ । उपराष्ट्रपति यादवले आपसी हितका लागि द्विपक्षीय सहकार्य थप सुदृढ र विस्तार गर्ने प्रशस्त सम्भावना र अवसरहरु रहेको बताए । उनले संयुक्त राष्ट्र संघ तथा असंलग्न राष्ट्रहरुको समूहका सदस्य रहेका नेपाल र साउदी अरबले अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा मामिलाहरुमा सहकार्य गर्दै आएकोमा संतुष्टि व्यक्त गरे । ‘साउदी अरब नेपाली कामदारका लागि वैदेशिक रोजगारीको एक मुख्य गन्तव्य बनेको छ । करीब पाँच हजार नेपाली कामदार रहेको साउदी अरब ठूलो संख्यामा नेपालीहरु रहेका विदेशी मुलुकहरु मध्येको एक हो ’ उपराष्ट्रपति यादवले भने, ‘नेपाली कामदारहरुलाई ठूलो संख्यामा रोजगारीको अवसर उपलब्ध गराएकोमा म साउदी अरब सरकारप्रति आभार व्यक्त गर्दछु । नेपाली कामदारहरुले साउदी अरबको विकास र प्रगतिमा पनि योगदान पुर्याएको विश्वास लिएको छु । ’
उनले जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, विकास, जडीबुटी औषधिजस्ता प्रचुर सम्भावनाका क्षेत्रमा नेपालले साउदी लगानीलाई संधै स्वागत गर्ने बताए । ‘नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक सम्भावित क्षेत्र हुनसक्छ’ उनले भने, ‘नेपालको अनुकूल मौसमका कारण वर्षे विदा मनाउन विदेश यात्रामा जाने साउदी पर्यटकहरुका लागि नेपाल आकर्षक गन्तव्य हुने र प्रत्यक्ष हवाई सम्पर्कले त्यसमा ठूलो मद्दत पुग्ने देखिन्छ । यसका लागि पहल हुनु जरुरी छ ।’
उनले नेपाल र साउदी अरबबीच सन २०२२ मा हस्ताक्षर भएको जनरल कर्पोरेसन एग्रीमेन्टले दुई देशबीच औद्योगिक, पेट्रोलियम, खनिज, पेट्रोकेमिकल, कृषि, पशुपालन, स्वास्थ्य , पर्यटन लगायतका समग्र आर्थिक क्षेत्रमा सहकार्य गर्ने मार्ग प्रशस्त गएको बताए ।
साउदी अरबका राजदूत साद नासीरले आप्mनो मुलुकले नेपालको अर्थतन्त्रमा नेपालीहरुलाई रोजगारी दिएर ठूलो सहयोग गरिरहेको बताए । उनले साउदी अरब नेपालको पर्यटनलगायतका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको समेत बताए ।