न्यूज टुडे
राजविराज, २७ श्रावण ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेश समितिद्वारा रौतहटको गरुडा नगरपालिका ४ मा शनिबार एक अनाथालयलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) को २४ औ स्थापना दिवसको अवसरमा आयोजित एक समारोहका विच बंशीराम जयसवाल अनाथालयलाई विभिन्न खाद्यान्न सामाग्री वितरण गरेको हो ।
आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षता तथा गुजारा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्य एवम् गरुडा नगरपालिकाकी उपप्रमुख पुनमदेवी चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख सन्तलाल र विशिष्ट अतिथि उपप्रमुख पुनमदेवीले अनाथालयका अध्यक्ष कृष्ण कुमार सिंहलाई विभिन्न खाद्यान्न सामाग्री प्रदान गरे ।
अनाथालयलाई खाद्यान्न सहयोग गर्दै नगर प्रमुख चौधरीले अनाथ बालबालिकालाई सहयोग गरेकोमा आदिवासी जनजाति पत्रकारहरुलाई धन्यवाद व्यक्त गरे । अनाथालयमा यसअघि पनि सहयोग गरेको बताउदै उनले पुन: चाँडै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
नगर उपप्रमुख चौधरीले अनाथालयको पुर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
अनाथालयका अध्यक्ष सिंहले अनाथबालबालिकाको लागि खाद्यान्न सहयोग गरेको प्रति खुशी हुदै धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा फोनिज सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरी, बाराका अध्यक्ष जियालाल चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष प्रिया सिंह थारुले गरिन ।