न्यूज टुडे
राजविराज, २६ श्रावण ।
आन्दोलित पत्रकार महासंघ शाखा सप्तरीले अगामी संघर्षको कार्यक्रमहरु सार्वजनिक गरेको छ। महासंघ सप्तरीका सचिब रामनारायण विश्वासले शुक्रबार एक प्रेस विज्ञाप्ति जारी गर्दै थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचनासहितको उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेलमाथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानून बमोजिम कारबाही हुनुपर्ने मागसहित आन्दोलित महासंघ सप्तरीले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको महासंघ सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महासंघले संघर्ष र सम्वादसँगै लगिने जनाउँदै मध्यस्थकर्ताको जिम्मेवारी कार्यसमिति सदस्य विद्यानन्द राम र कृष्णकुमार मण्डललाई दिइएको जनाएका छन् ।
श्रावण २७ गते शनिवार: मौन जुलुस प्रदर्शन गर्ने (११ बजे), श्रवण २८ गते आईतवार: मैनबत्ती जुलुस प्रदर्शन गर्ने (११ बजे),श्रावण २९ गते सोमबार: सिटि जुलुस प्रदर्शन गर्ने (११ बजे), श्रावण ३० गते मंगलवार: १ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने (११–१२ बजेसम्म),श्रावण ३१ गते बुधवार: २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–१ बजेसम्म)श्रावण ३२ गते बिहीवार: ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–२ बजेसम्म) र भदौ १ गते शुक्रवार: २४औं घण्टे रिले अनसन (प्रशासन कार्यालयमा) बस्ने संघर्षका कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।