न्यूज टुडे
राजविराज, २४ श्रावण ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधवार जारी गरेको सूचनामा प्रशासन कार्यालयको फोटो–भिडियो खिच्न र पत्र–पत्रिका तथा अनलाईनमा प्रकाशन गर्न रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ सप्तरीले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष श्रावण कुमार देव र सचिब रामनारायण विश्ववासले बुधबार प्रेस विज्ञप्तिमार्फत यस्तो रोक लगाउने कार्य फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरित जिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाही कालिन उर्दी’को रुपमा लिएका छौं भनी विज्ञप्तिमा उल्लेख छ । जिल्लामा शान्ति–सुरक्षा र सुशासन कायम गर्न नसकेको आरोप चौतर्फीरुपमा लागिरहेको बेला प्रशासनको यो उर्दीले त्यो आरोपलाई अझ उदा·ो गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी आफुहरुलाई मान्य नहुने भन्दै विज्ञप्तिमा श्रावण २४ गते बुधबार राती ८ बजेसम्म त्यस्तो उर्दीपुर्ण सूचना फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिईएको छ ।