न्यूज टुडे
राजविराज, २२ श्रावण ।
अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि १ घण्टा धर्ना बसेका छ्न । स्थानीय शिव मन्दिरबाट विरोध प्रदर्शनसहित पुगेका तामाङ र मगर समुदाय दिनको १ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन ।
अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ति विरुद्ध सप्तरी सदरमुकाम राजविराजमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरी र नेपाल मगर संघ जिल्ला समन्वय समिति सप्तरीले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै धर्ना बसेका हुन ।

एउटा टिभी अन्तरवार्तामा अधिवक्ता पाण्डेले तामाङ र मगरको विवाहको प्रसंगमा दिएको अभिव्यक्तिको विरोध स्वरुप आन्दोलनमा उत्रिएको नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधना राना मगरले बताईन । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीले आफ्नो आत्मसम्मानमा गम्भीर चोट पुगेको उनले बताइन् । अधिवक्ता पाण्डेको अभिव्यक्तिप्रती आपत्ति जनाउदै उनले उनिमाथि हदैसम्म कारबाहीको माग गरिन ।
आन्दोलित बनेका तामाङ र मगर समुदायले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत ३ सूत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले तुरुन्तै सम्बन्धित ठाउँमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारीलाई आन्दोलनरत समुदायले बुझाएको ज्ञापन पत्रमा तामाङ र मगर समुदायलाई होच्याउने र विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन बमोजिम हदै सम्म सजाय दिनुपर्ने माग गरिएको छ । सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिएकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् । यातना दिने परिसरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलगायत संलग्न सबै प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । घाइते अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
ज्ञापन पत्र बुझाएपछि मगर संघ र घेदुङका जिल्ला अध्यक्षले सम्बोधन गरेर धर्ना कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष सुर्यमान तामाङले अधिवक्ता पाण्डेमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गरे । आन्दोलनमा सक्रिय रहेका सामाजिक अभियन्ताहरुमाथी प्रहरीद्वारा गरिएको बर्बरतापुर्ण दमनको विरोध गर्दै अध्यक्ष तामाङले प्रहरीको लाठीचार्जबाट घाइते अभियन्ताहरुलाई क्षतिपूर्तिसहित उपचारको व्यवस्था मिलाउन र यातना दिने प्रहरीमाथी समेत कडा कारबाहीको माग गरे । उनले पाण्डेलाई कारबाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।