न्यूज टुडे
राजविराज, १९ श्रावण ।
राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले ऋण खाएर नतिर्ने बेईमानी नियत भएकाहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छ्न । आइडियल सहकारी संस्था राजविराजद्वारा २५ औं रजत जयन्तीको अवसरमा राजविराजमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य सिंहले आइडियल सहकारी संस्थाले आर्थिक तथा सामाजिक रुपान्तरणमा अतुलनीय योगदान गरेको बताए ।
आइडियलको २५ औं बर्षको इतिहासमा गरेको प्रगतिबाट अन्य सहकारी संस्थाहरुले प्रेणा लिनुपर्छ, उनले भने, आइडियलले छोटो समयमा वित्तीय तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदान सबैको लागि उदाहरणिय छ । सिंहले ऋण लिएर तिर्न नखोज्नेहरुलाई कालो सुचिमा राख्नुपर्नेमा जोड दिए । तिनै तहको सरकारले बेईमानी नियत भएकाहरूलाई ब्याल्कलिस्ट गरि सेवासुविधा रोक्नुपर्ने बताउदै उनले यस्तो गरिए इमानदार सहकारी संस्थाहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सतिष कुमार सिंह, राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन, पत्रकार महासंघ सप्तरीका सचिब राम नारायण विश्वास, मानवाधिकारकर्मी एवम् पत्रकार मनोहर कुमार पोखरेल, मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष अबधेश कुमार झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव कुमार देव, राष्ट्रिय सहकारी बैंक राजविराजका अध्यक्ष विश्वनाथ मण्डल, सहयोगी बचत तथा ॠण सहकारी संस्था कंचनपुरका अध्यक्ष अनोज कुमार यादव, लकेन्द्र साह, इन्द्र नारायण देवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
राजेश कुमार झाद्वारा संचालित कार्यक्रममा स्वागत संस्थाका सचिब शैलेश कुमार चौधरीले गरे ।