न्यूज टुडे
राजविराज, १९ श्रावण ।
सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सुत्रीय माग राख्दै किसान संघर्ष समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरवार काठमाडौ ज्ञापनपत्र पठाएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्व प्रसाद सिंह यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय राजविराज पुगेका एक टोलीले प्रशासकीय अधिकृत कल्पना मानन्धरलाई ज्ञापनपत्र बुझाएका छ्न ।
ज्ञापनपत्रमा पानी नपरेपछि आमनागरिक र किसानले पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, चौपायाँ फैलिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, किसानका लागि उन्नत बिउँ विजन, सिचाइँ तथा मलखाद सरल र सहज रुपमा उपल्बधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीयकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर किसानलाई सहज रुपमा उपलब्ध गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी सबै स्थानीय तह हरुमा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको माग रहेको छ । समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत मानन्धरले संघर्ष समितिले उठाएको माग जायज भएकोले तत्कालै सम्बन्धित निकायमा पठाउने बताईन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरिएको ज्ञापनपत्र किसान संघर्ष समिति संयोजक श्रीप्रसाद भगतले बाचन गरेका थिए ।
उक्त अवसरमा खडक नगरपालिकाका पुर्व प्रमुख हेमायु हक, युवा नेता अर्मेन्द्र कुमार यादव(अरुण), अरुण कुमार यादव, लगायत जनप्रतिनिधिहरु तथा किसानहरूको उपस्थिति रहेको थियो ।