न्यूज टुडे
राजविराज, १८ श्रावण ।
सप्तरीको बोदे बर्साईन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सुत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएको छ । स्थानीय किसान संघर्ष समितिले विहीबार बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको हो ।
किसान संघर्ष समिति बोदे बर्साईन नगरपालिकाका संयोजक श्रीप्रसाद भगतको नेतृत्वमा बोदे बर्साईन नगरपालिकाको कार्यालय पुगेका एक टोलीले नगर प्रमुख यादवलाई पानी नपरेपछि आमनागरिक र किसानले पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, पशुमा फैलिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, किसानका लागि उन्नत बिउँ विजन, सिचाइँ तथा मलखाद सरल र सहज रुपमा उपल्बधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीयकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर नगरपालिकाले किसानलाई सहज रुपमा उपलब्ध गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी बोदे बर्साईन नगरपालिकामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको माग रहेको छ । समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख यादवले बोदे बर्साईन नगरपालिकामा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्याबारेमा स्थानीय सरकार गम्भीर रहेको बताइएको छ ।
नगर प्रमुख यादवले यस विषयमा ऊर्जा सिचाइँ तथा खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्य सरोकारवालाको विज्ञसँग छिटो छलफल गरेर आफू पनि सर्वदलीय बैठक बोलाएर समस्याको समाधानका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा वडाध्यक्षहरु मो.मोजिबुर रहमान, राज कुमार यादव, स्थानीय बुद्धिजीवी मो. गफुर, अरुण कुमार यादव, अनिल प्रसाद सिंह, मो जमिर, स्थानीय पत्रकार उमेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।