• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

गुम्बा निर्माण उदाहरणीय र प्रेरणादायीः नेता लेखी

गुम्बा निर्माण उदाहरणीय र प्रेरणादायीः  नेता लेखी

न्यूज टुडे
राजविराज, ८ श्रावण ।
मधेश प्रदेशका पुर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य राज कुमार लेखीले थोरै संख्यामा रहेका तामाङ समुदायले गुम्बा निर्माण जस्तो धेरै ठूलो उदाहरणीय र प्रेरणादायी काम गरेको बताएका छन् । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा सोमबार संसदीय क्षेत्र विकास कोषबाट निर्मित त्रिरत्न गुम्बाका विभिन्न संरचनाहरुको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

गुम्बाको नवनिर्मित विभिन्न संरचनाको रिवन काटेर उदघाटन गर्दै माननीय राज कुमार लेखी । फोटोः न्यूज टुडे

संख्याको आधारमा एकसय घरको हाराहारीमा भएको जातिले यतिको आकर्षक गुम्बा बनाउने कार्य सामान्य होईन, लेखीले भने, तामाङ समुदायले धेरै ठूलो उदाहरणीय र प्रेरणादायी काम गरेको छ ।
उनले तामाङ समुदायको साहस र विकास प्रतिको लगनशीलताबाट प्रभावित भएर आफुले बजेट विनियोजन गरेको बताए । लेखीले तामाङ समुदायले गरेको कामबाट प्रेरणालिदै सबै जातिसमुदायलाई सामाजिक रुपान्तरणको कार्यमा सक्रिय हुन आग्रह गरे ।
प्रत्येक वडामा हलसहितको सामुदायिक भवनको आबश्यकता रहेकोमा जोड दिदै उनले २ बर्ष सम्ममा आप्mनो निर्वाचन क्षेत्रको २५ वटै वडामा सभाहलसहितको सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी । फोटोः न्यूज टुडे

समाज परिवर्तनका लागि शिक्षा अति आबश्यक हुने बताउदै लेखीले बर्तमान अवस्थाबाट माथी उठ्न गुणस्तरीय शिक्षामा जोड दिए । मधेश प्रदेशको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै पुर्व मन्त्री लेखीले शिक्षा क्षेत्रमा देखिएको बेतिथी अन्त्यका लागि यसमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, अस्पतालसहितका सरकारी कार्यालयहरुबाट अहिलेपनि सर्वसाधारणले गुणस्तरीय सेवा लिन नपाएको चर्चा गर्दै लेखीले सरकारी सेवालाई प्रभावकारी बनाउन ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले मधेश प्रदेशमा भ्रष्टाचार नियन्त्रण नभएसम्म विकासले गति लिन नसक्ने दावी गरे ।
लेखीले ६ बर्षदेखी जसपाले सरकारको नेतृत्व गरेपनि कुनैपनि क्षेत्रमा उल्लेखनीय कार्य गर्न नसकेको आरोप लगाए । पाँच बर्षसम्म जसपा र लोसपाले संयुक्त सरकार चलायो, अहिले ६ दलको सरकार छ, उनले भने, जसपा नेतृत्वको सरकारले कुनै क्षेत्रमा पनि राम्रो काम गर्न सकेन, यो अवधिमा प्रदेशलाई बदनाम गर्ने बाहेक कुनै उल्लेखनीय कार्य भएन ।
जसपा नेतृत्वको सरकारले जनताको अबश्यकता सम्बोधन र अबस्थामा सुधार ल्याउनुभन्दा भ्रष्टाचार मात्र गरेको उनको भनाई थियो ।
अग्नीसाईर कृणासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले प्रदेशसभा सदस्य लेखीले गाउँपालिकाको विकासमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे । गाउँ पालिकाबासीले पहिलो मत प्रदान गरि विजयी गराएको स्मरण गराउदै अध्यक्ष चौधरीले माननीय लेखीसंग पालिकाबासीले अरुले भन्दा बढी विकासको अपेक्षा राखेकोले सहयोग पाउनेमा विश्वास व्यक्त गरे ।

शुभकामना व्यक्त गर्दै उपाध्यक्ष कल्पना कुमारी चौधरी । फोटोः न्यूज टुडे

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरीले विकासको काममा सहकार्य गर्नुपर्नेमा जोड दिईन । उनले संसदीय क्षेत्र विकासको बजेटबाट गाउँपालिकामा संचालित योजनाका कार्यमा समन्वय अभाव देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिन ।
नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङले गुम्बा निर्माण कार्यमा सबै क्षेत्रको साथ सहयोग हुनुपर्ने आबश्यकता रहेको बताए । गुम्बा निर्माण कार्यले अझै पुर्णता पाइ नसकेको बताउदै उनले पुर्व मन्त्री लेखी र गाउँपालिकालाई निरन्तर सहयोगको लागि आग्रह गरे । उनले गुम्बा निर्माणमा जनप्रतिनिधिहरुबाट सधै साथसहयोग पाउने विश्वास व्यक्त गरे ।
गुम्बामा माटो ग्राइभेल, पलाष्टर, शौचालय तथा गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्जमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक मिलन कुमार चौधरी, एमाले गाउँपालिका सचिब बिनोद चौधरी, प्रेस विटेरियन चर्च चौफालका एल्डर भिम बहादुर राईलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत त्रिरत्न गुम्बा विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खडग बहादुर तामाङले गरे ।

उक्त उदघाटन समारोहमा नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय सदस्य मेख बहादुर तामाङ, नेकपा एमाले सप्तरीका सदस्य योगेन्द्र प्रसाद चौधरी, बद्री नारायण चौधरी, घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङ, पुर्व अध्यक्ष सन्तमान गोले, जिल्ला पदाधिकारी, स्थानीय तहका अध्यक्षहरु, मावि सितापुर भुर्कीका अध्यक्ष कुशेश्वर प्रसाद चौधरीलगायतका विभिन्न पार्टीका जिल्ला तथा स्थानीय नेताकार्यकर्ताहरुको समेत उपस्थित रहेको थियो ।