• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कमिसन उठाउनै करारमा सव–इन्जिनियर साफीलाई राखेको खुलासा

कमिसन उठाउनै करारमा सव–इन्जिनियर साफीलाई राखेको खुलासा

न्यूज टुडे
राजविराज, ५ श्रावण ।
सामाजिक विकास इकाई सप्तरीमा कार्यरत सब–इन्जिनियर अजयकुमार साफीलाई कमिशन ‘पिसी’ उठाउन नियुक्त गरिएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार छापा मारेपछि लिएको रकम र चेक प्mयाकी पर्खाल नाघेर भागेपछि कार्यालय प्रमुखले कमिसन उठाउन साफीलाई नियुक्त गरेको खुलासा भएको हो ।
डेढ वर्षअघि सब–इन्जिनियरमा करारमा नियुक्ती पाएका साफी इकाई प्रमुख दुनियालाल यादवकै गाउँले हुन्

उनले फालेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक आयोगको टोलीले बरामद गरेको पाइएसँगै ती कर्मचारीसँग जोडिएको ‘कमिशन’ को ‘कनेक्शन’बारे थप खुलासा भएको छ
जिल्लाको बलान विहुल गाउँपालिका–४ वेल्ही बस्ने इकाई प्रमुख यादवले सोही गाउँपालिका–३ मौहा बस्ने सब–ईन्जिनियर साफी ‘पिसी’ उठाउनैका लागि करारमा नियुक्ती दिएको श्रोतले बताए । ‘हाकिमले हरेक योजनामा ७ देखि १२ प्रतिशत पिसी सब–ईन्जिनियर साफीमार्फत नै उठाउँछन’ उनले भने, ‘चिनजानको व्यक्ति भयो भने ७ अन्यथा १० वा १२ प्रतिशत पिसी हाकिमकै हिस्सामा जाने गर्छन्, मैले एउटा योजना चलाउँदा समस्या सुनाएपछि ९ प्रतिशतमा कुरा मिलेको थियो । त्यो चेक पनि साफीलाई नै बुझाउन भनिएको थियो र मैले नामै उल्लेख नगरी चेक बुझाए पनि ।’

अहिले पनि सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी ‘पिसी’ नपाएरै चेक थन्काएर राखेको उनले बताए । ‘चेकको म्याद पनि अब सकिने बेला हुन लागेकोले हतार–हतारमा पिसी लिँदै चेक दिन थालेका छन्, उनले भने,सोही कार्यलाई बिहिवार पनि तीव्रता दिइएको थियो र अख्तियारको टोली आइहाल्यो’
उपभोक्ता समितिले सम्पन्न गरेको सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालयको चार कोठे अधुरो भवन निर्माण कार्यको भुक्तानी दिनका लागि माग गरेको कमिशन लिँइरहदा बिहिवार आयोगको टोली देखेर सब–इन्जिनियर साफीले पर्खाल नाघेसँगै अन्य कर्मचारीहरु भागाभाग भएका थिए ।
सूचनाको आधारमा इटहरीबाट खटिएको टोलीले १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । सो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यता, इकाई प्रमुख यादवले आफुले कसैसँग ‘पिसी’ नलिएको र कुनै कर्मचारीलाई पनि ‘पिसी’ लिन नभनेको प्रतिक्रिया दिए । चेकमार्फत पिसी लिइरहेको वा लिएको भन्ने विषयमा जानकारी नभएको उनले बताए । ईकाई प्रमुख यादव स्वास्थ्य इकाई कार्यालय सप्तरीको प्रमुख समेत हुन । उनलाई पुर्व सामाजिक विकास मन्त्री नवल किशोर साहले कार्यालय प्रमुखको जिम्मेवार दिएको थियो । यादवले दोहोर जिम्मेवारी लिदै सेवाग्राहीसंग कमिसन असुल्ने गरेको गुनासो व्यापक रुपमा उठ्दै आएको थियो ।