न्यूज टुडे
राजविराज, १ साउन ।
मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक २०८० पारित भएको खुशीयालीमा मिटरब्याजपिडितले राजविराजमा सोमबार विजय जुलुस प्रदर्शन गरेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले विधेयकको समर्थनमा विभिन्न नारा लगाउँदै विजय र्याली निकालेका हुन ।
स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको र्याली नगरको विभिन्न स्थान परिक्रमा गरे । मिटरब्याजी पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष तैयव अलिको नेतृत्वमा निकालिएको विजय र्यालीमा गाउँ–गाउँबाट सदरमुकाम आएका पीडितहरु सहभागी थिए ।
नेपाल सरकार जिन्दाबाद ,मिटरब्याजी पिडित संघर्ष समिति जिन्दावाद लगायतका नारा लगाउदै अविर लगाएर झाकीसहित पीडितहरुले र्याली निकालेका छ्न ।
संघर्ष समिती सप्तरीका अध्यक्ष अलिले सरकारले मिटर व्याज पीडितको समस्या सम्बोधनका लागी विधेयक ल्याएको खुशीयालीमा विजय र्याली निकालिएको बताए । उनले विधेयक पारित भएकाले आफुहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे ।
संघर्ष समितीका केन्द्रिय प्रतिनिधि छेदी पासवानले मिटरब्याजी पिडितको समस्याप्रति प्रचण्ड नेतृत्वको सरकार गम्भीर देखिएको बताए । वर्तमान सरकारले पीडितको पक्षमा एकपछि अर्को असल कदम उठाएको भन्दै उनले बल्ल गरिव विपन्नहरुलाई सरकारको महुसुस हुन थालेको बताए ।
मिटर व्याज पीडित ललिता साहले विधेयक आएसंगै लाखौं पीडितहरुले न्याय पाउने विश्वास व्यक्त गरिन । उनले विधेयक अविलम्ब कार्यान्वयन गर्दै पिडकमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिईन ।