न्यूज टुडे
राजविराज, १ साउन ।
सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोज राम रिहा भएको छ । अन्तरजातीय प्रेमविवाह गर्दा कारागार पठाइएका राम सर्वोच्च अदालतको आदेशपछि आइतबार थुना मुक्त भएको हो।
श्रीमतीलाई अपहरण गरेको आरोपमा डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका मनोज आइतबार सर्वोच्चको आदेशपछि थुनामुक्त भएका छ्न । रामले सर्वोच्च अदालतबाट आंशिक न्याय पाएका छन् ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रामको हकमा अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेलगत्तै उनी थुनामुक्त भएका हुन । सप्तरी जिल्ला अदालतबाट पत्र आएपछि साँझै मनोजलाई छाडिएको कारागारका निमित्त प्रमुख सदानन्द दासले बताए ।
थुनामुक्त भएपछि मनोजले आंशिक न्याय पाएको प्रतिक्रिया दिए । ‘आंशिक रूपले न्याय पाएको छु, पूर्ण न्याय पाउन बाँकी छ, रामले भने, जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको थियो, मेरो न्यायको लडाइँमा सहयोग गर्ने मिडिया र सर्वोच्च अदालतलाई धन्यवाद,’ ।
रामले आफ्ना परिवारको सदस्यले अझै न्याय नपाएको पनि बताए । ‘मेरो दाइ अझै थुनामै छन्, बुबा र एक भाइ भाग्नुपरेको छ, उनले भने, उनीहरूलाई पनि न्याय दिनुपर्छ,’ मेरो जोडदार माग छ ।
मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुनामा पठाउने आदेश गरेको थियो ।
अन्तरजातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोजविरुद्ध मुद्दा दायर गरेका थिए । उनैले पेस गरेको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुनामा पठाउने आदेश दिएका थिए । जब कि उनीहरूले कपिलवस्तु जिल्ला अदालतमा विवाह दर्ता गर्दा पेस गरेको कागजातमा भने बबिताको जन्मदर्ता फरक थियो । बुबाले आफ्नो नक्कली जन्मदर्ता बनाएर श्रीमान् मनोजलाई जेल हालेको बबिताले बताउँदै आएकी थिइन् ।
मनोजकी श्रीमती बबिताले पनि सर्वोच्चबाट न्याय पाएकोमा खुसी व्यक्त गरिन । ‘हामीले ढिलै भए पनि केही न्याय पाएका छौँ, उनले भनिन्, कसैलाई विवाह गर्दा जातीय विभेद नहोस्,’ । तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि मनोज र बबिताले ०७९ कात्तिकमा प्रेमविवाह गरेको थियो । त्यसपछि गत जेठमा जिल्ला अदालत कपिलवस्तुमा ‘कोर्ट म्यारिज’ गरेका थिए । ‘कोर्ट म्यारिज’ गर्दा अदालतमा पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा बबिताको जन्ममिति १६ असोज ०५८ छ ।
जब कि बुबा ललितले भने मुद्दा दर्ता गर्नुअघि अग्नी साईर कृष्णासवरन गाउँपालिका– ४ बाट बबिताको नक्कली जन्मदर्ता बनाएर जन्ममिति २४ वैशाख ०६७ कायम गरेका थिए, जुन प्रमाणपत्रमा दर्ता मिति भने २५ पुस ०७५ र जारी मिति २२ पुस ०७२ थियो । तर, अंग्रेजीमा दर्ता नम्बर पनि उल्लेख थिएन ।
श्रीमानलाई जिल्ला अदालतले थुनामा पठाएपछि बबिता विभिन्न अधिकारवादी संस्था चहार्दै न्याय माग्दै सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चले १० असारमा कारण देखाऊ आदेश जारी गरेको थियो । विपक्षीहरूबाट पनि जवाफ आइसकेर अंग पुगेपछि मुद्दा पेसी चढेको थियो । सर्वोच्चको आदेशसँगै अब मनोज थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । सप्तरी जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।