• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

फोहोरमैला नउठाउँदा राजविराज हटिया दुर्गन्धित

फोहोरमैला नउठाउँदा राजविराज हटिया दुर्गन्धित
न्यूज टुडे
राजबिराज, २२ असार ।
सप्तरीको राजबिराज नगरपालिका ७ मा अबस्थित मुख्य बजार क्षेत्र फोहोरमैलाले दुर्गन्धित भएका छन् । एक सातादेखि राजबिराज नगरपालिकाले हटिया क्षेत्रका फोहोर नउठाउँदा बजारमा दुर्गन्ध फैलिएको हो ।
वडा कार्यालयले फोहर नउठाउँदा हटियाभरी छरपट्ट भई दुर्गन्ध फैलिएको स्थानीयहरुले गुनासो गरेका छन् । फोहोरले नाला जाम गर्दा बजार क्षेत्र  सामान्य बर्षामा पनि जलमग्न भएको हटियाका ब्यापारीहरुले बताएका छन् । एकसातादेखि नगरपालिकाका सरसफाई कर्मचारीहरुले फोहरमैला उठाएको छैन, राजबिराज नगरपालिका ७ का एक स्थानीयबासीले भने, दुई दिनअघि भएको बर्षाको पानीले फोहोरलाई तितरबितर पारे ।
समयमा ब्यबस्थापन नगर्दा सडकमा थुपारिएको फोहोरमैला नालामा पसेर जाम हुन थाले, स्थानीय एक ब्यापारीले भने, वडा कार्यालयको लापरबाहीले नालाको पानी अबरुद्ध हुँदा फोहोरसहित पानी घर भित्र पस्ने भयो । फोहोरले हटिया दुर्गन्धित भएको बारे ७ नम्बर वडा अध्यक्ष सुवास यादवसंग र नगरपालिकासँग पटक–पटक सम्पर्क गर्दा समेत सुनुवाई नगरेको स्थानीयले गुनासो गरेका छन् । फोहोरको दुर्गन्धले बजार क्षेत्र वरिपरि बस्न समस्या भएको उनीहरुले दुखेसो पोखे ।
फोहोर नालामा जाम भई पानीको निकास बन्द भएर घर भित्र फोहोरमैलासहित पानी पसेर डुवान हुँदा समेत समस्या समाधान तर्फ कसैले चासो नदिएको स्थानीयबासीहरुले दुखेसो सुनाएका छन् ।
अध्यक्ष यादवले फोहर प्याक्ने ठाउँको अभावले फोहोर उठाउने कार्य रोकिएको बताउँदै छिट्टै फोहोर ब्यबस्थापन गर्ने बताए ।
वडा नम्बर ४ का अध्यक्ष दिनेश कसेराले फोहरमैला उठाउने कार्य सुरु गरेको बताए । मुख्य सडकको फोहरमैला उठाईसकेको जानकारी गराउदै उनले बाँकी क्षेत्रको फोहरमैला उठाउने प्रयास गरिएनि डम्पिङसाईटको समस्याले रोकिएको बताए ।
राजबिराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परविनले  डम्पिङसाईडमा विवाद उत्पन्न भएपछि फोहर व्यवस्थापनमा केही ढिलाई भएपनि  अर्को बैकल्पिक व्यवस्था गरिएकोले फोहर उठाउने कार्य धमाधम भइरहेको बताईन ।  सरसफाइको जिम्मेवारी वडा कार्यालयलाई दिईएको वताउदै उनले चाँडै फोहर उठ्ने उल्लेख  गरिन । राजबिराज नगरपालिकाका वडा कार्यालयहरुलाई सरसफाई कर्मचारी, फोहर प्याक्ने साधन र सोमा लाग्ने ईन्धनको ब्यबस्थापन गरिएको उनले जानकारी गरिन। डम्पिङसाईटको व्यबस्था गरि सबै सुबिधा दिईसकिएको छ के कारणले फोहोरमैला नउठाएको हो, सोबारे बुझेर उठाउन लगाउने कार्यबाहक नगरप्रमुख परविनले बताइन् ।
 वडा १५  स्थित डम्पिङसाईटको व्यवस्थापन गारेपनि स्थानीयबासीले अवरोध गरेकाले फोहर व्यवस्थापनमा समस्या भएको नगरपालिकाले जनाएको छ ।  राजबिराज नगरपालिकामा सरसफाइको नाममा महिनाको लाखौं खर्च भएपनि प्रगति भने शुन्य रहेको छ । समयमा सरसफाई नहुँदा नालामा पानी अबरुद्ध भई सामान्य बर्षामा पनि जिल्लाको पुरानो राजबिराज नगरपालिकाका जलमग्न हुने गरेको छ ।