• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कार्यपालिका सदस्यहरूलाई सक्रिय हुन पटेलको आग्रह

कार्यपालिका सदस्यहरूलाई सक्रिय हुन पटेलको आग्रह

न्यूज टुडे
राजविराज, २४ जेठ ।
प्रदेश सभा सदस्य श्याम पटेलले आफूले तालिममा प्राप्त गरेको ज्ञान पालिका बैठकहरूमा प्रयोग गरी उपलब्धि हासिल गर्न दलित कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन् ।

बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि वीरगन्जको राणी सती धर्मशालामा बुधबार आयोजित नेतृत्व विकास तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रम बोल्दै प्रदेशसभा सदस्य पटेलले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताए । उनले यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताए । मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।

दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एकजुट भएर अघि बढ्न सुझाव दिए । उनले यस्ता तालिम कार्यक्रमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हक÷अधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यकताअनुसार सञ्चालन गरिरहेको जानकारी पनि दिए । उनले जति दलित कार्यपालिका सदस्यहरू सक्रिय हुन सके दलित समुदायले अधिकार पाउने सम्भावना पनि उत्तिकै रहने बताए । कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए । आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरे । बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेका भनाइ उनीहरूको थियो । उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरे ।

तालिममा सहभागी कार्यपालिका सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै प्रदेशसभा पटेल । फोटोः न्यूज टुडे

दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो । यसअघि सप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ ।

दलित सरोकार मञ्च, नेपालद्वारा आयोजित यो तालिममा सञ्जालका २८ जना पदाधिकारी सहभागी छन् भने दलित अगुवा १५ जनाको सहभागिता छ । केही समयअघि यही संस्थाद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो । यस्तो सञ्जालमार्फत दलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको जानकारी दिए ।

यी सबै तालिमको सहजीकरण प्रशिक्षकद्वय सोनालाल चौधरी र रघुनाथ लामिछानेले गरेका थिए । कार्यक्रममा पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैँ लिने प्रतिबद्धतासहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिँदै आफूले सिकेको ज्ञानको भरपुर प्रयोग गर्न सुझाएका थिए ।