न्यूज टुडे
राजविराज, २३ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकामा कर्मचारीदेखि उपभोक्ता समितिसम्मलाई लाखौं पेश्की वितरण गरिएको पाएको छ ।
गाउँपालिकामा कार्यरत कर्मचारी तथा विभिन्न उपभोक्ता समितिहरुलाई ५१ लाख बराबरको पेश्की मनपर्दी रूपमा बाँडिएको खुलासा भएको हो । महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार कर्मचारी तथा विद्यालयहरुले लिएको ५० लाख ९८ हजार १ सय रुपैयाँ पेश्की फछ्र्यौट गर्नु पर्ने देखिएको छ । गाउँपालिकाबाट अरुण कुमार मण्डलले २ लाख १४ हजार ६ सय, उपेन्द्र प्रसाद यादवले १० हजार, मिथिलेश कुमार यादवले २ लाख ५० हजार, राजाराम साहले १ लाख २१ हजार ५ सय, राम अवतार यादवले २ लाख पेश्की लिएर तोकिएको म्यादभित्र फछ्र्यौट नगरेको प्रतिबेदनमा उल्लेख छ ।
यसैगरी श्री आधारभुत विद्यालय छपकी भथौलले २४ लाख १२ हजार, श्री जेसिज आधारभुत विद्यालय पौवाले १८ लाख र सप्तरी क्रिकेट संघले ९० हजार पेश्कि फछ्र्यौट गर्न बाँकी रहेको महालेखा परीक्षकको प्रतिबेदन २०७९ मा जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ५० मा पेश्की दिएको रकम तोकिएको म्याद भित्र फछ्र्यौट गर्नु गराउनु लिनेदिने दुबैपक्षको हुने उल्लेख्य छ ।
तर गाउँपालिकाले विभिन्न कर्मचारी तथा उपभोक्ता समितिलाई दिएको पेश्की आर्थिक बर्षको अन्त्यसम्ममा फछ्र्यौट नभई बाँकी रहेको देखियो । फछ्र्यौट गर्न बाँकी रहेको पेश्की नियम अनुसार फछ्र्यौट गर्न महालेखाको प्रतिबेदनमा भनिएको छ ।