न्यूज टुडे
राजविराज, २२ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित दुधैला खोलामा आइतबार राती सेक्टर प्लानको शेयरवाल ढलान गर्ने क्रममा एक महिला मजदुरको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका ६ जगमोहनकी ५० बर्षिय कारोदेवी सदाको मृत्यु भएको हो । राती ढलान गर्ने क्रममा स १ त ७५८६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएकी सदाको उपचारकाको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राती १ बजे दुर्घटना भएको कुरा आएको छ, सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले भने, घटना बारे थप अनुसन्धान भईरहेको छ, थप कुरा अनुसन्धान पछि नै भन्न सकिन्छ ।
दुधैला खोलामा दुधैला जल उपभोक्ता संस्थाले सेक्टर प्लान स्थित शेरावाल ढलानको काम गरिएको स्थानीय जनाएको छ । राती गिटी लोड गरेर ल्याएको ट्याक्टर पछाडि सार्ने क्रममा सदाको टाउकोमा चोट लागेको दुधैला जल उपभोक्ता संस्थाका अध्यक्ष दिनेश प्रसाद साहले बताए । सदालाई तत्कालै उपचारका लागि राजविराज पठाएपनि चिकित्सकले मृत घोषण गरेको उनले जानकारी दिए । घटना रहस्यमय भएको भन्दै सदाका परिवारले निष्पक्ष छानवीनको माग गरेको छ । मृतक सदा एकल महिला रहेको स्थानीयले जनाएको छ ।
मृतका पति सातेन सदाको ४ बर्षअघि मृत्यु भइसकेको मृतकका भाइ फुलचान्द सदाले बताए । श्रीमानको मृत्यु पछि परिवार पाल्ने अभिभारा काँधमा आएपछि उनी मजदुरीको काम गर्दै आएकी थिइन । उनको १ भाइ छोरा र २ बहिनी छोरी छन् । छोरा रोजगारीको सिलशिलामा भारतमा रहेको जनाएको छ ।