न्यूज टुडे
राजविराज, २० जेठ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् मधेश प्रदेशका पुर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले आफ्नो संसदीय विकास कोषबाट संचालित योजनाहरुको काम पारदर्शी रुपमा संचालन गर्ने बताएका छन् ।
आफ्नो संसदीय विकास कोषबाट संचालित सप्तरीको कंचनरुप नगरपालिका ७ बलुवा चौकमा शनिबार १ महिने सिलाई कटाई तालिमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन । तालिम उदघाटन गर्दै पुर्व मन्त्री लेखीले विभिन्न बाहानामा हुने सबैखाले भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । मेरो संसदीय विकासकोषबाट आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका २५ वटै वडामा हाल योजना संचालनमा छ, मन्त्री लेखीले भने, गुणस्तरीय र समयमै काम सम्पन्न हुनेमा विश्वस्त छु, मलाई कुनै लोभलालच छैन, कसैबाट एकपैसा कमिसन लिन्न, पारदर्शी रुपमा काम गर्छु । लेखीले सिलाई कटाई तालिमलाई परिणाममुखी बनाउनु आबश्यक रहेको बताए । सीप समृद्धिको मुख्य आधार भएको बताउदै पुर्व मन्त्री लेखीले तालिममा सहभागीहरुले आफै व्यवसाय संचालन गरि आय आर्जन गर्न सकेमात्र तालिमको औचित्यता पुष्टि हुने उल्लेख गरे ।

पुर्व मन्त्री लेखी मधेश प्रदेश सरकार कछुवाको गतिमा हिडिरहेको बताए । मधेश प्रदेश सरकारको ढिलासुस्तीले विगत ४ बर्षदेखि प्रदेशको ५० प्रतिशात बजेटमात्र खर्च हुने गरेको उनले बताए । कमिसनकै कारण अन्य प्रदेशको तुलनामा विकासको कामले गति लिन नसकेको उनले आरोप लगाए । लेखीले संसद, सरकार तथा सरोकारवाला निकायहरूमा क्षेत्रको जनताको समस्या उठान गरेको दावी गरे । उनले कोशी टप्पु बन्यजन्तुको संरक्षण र बन्यजन्तु तथा नदिकटानको समस्या रोक्न आबश्यक योजनाका साथ सरकार र संसदको ध्यानाकर्षण गराएको बताए । राम्रो काम गर्दा समेत पार्टी भित्रकै केही नेताहरूको आलोचना सहनुपरेको प्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह इन्चार्ज समेत रहेको प्रदेशसभा सदस्य लेखीले चौक र सामाजिक संजालमा कुरा काट्नुभन्दा भेटघाट गरेर वा पार्टीको बैठकमा सुझाव सल्लाह दिन पार्टी नेताकार्यकर्ताहरुलाई आग्रह गरे । उनले जनता र पार्टीको हितमा काम गर्दा कसैले अबरोध गर्ने प्रयास गरे महंगो हुने बताए । राम्रो काम गर्नेलाई पार्टीले हतोत्साहित नगरी प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।
राष्ट्रिय स्वावलम्वन विकास समाज कंचनरुप ७ का अध्यक्ष माधव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिका ६ का वडा अध्यक्ष बच्चुलाल चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपाकाबाट सावित्री देवि चौधरी, कंचनरुप नगरपालिकाबाट सीता पौडेल र सप्तकोशी नगरपालिकाबाट संगिता विष्टले शुभकामना मन्तव्य व्यक्त गरिन । सविता न्यौपानेद्वारा संचालित कार्यक्रममा स्वागत स्वावलम्वन विकास समाजका सचिब ममता चौधरीले गरिन । पुर्वाधार विकास कार्यालय सिरहाको सहयोग तथा स्वावलम्बन विकास समाज कंचनरुप ७ को आयोजना संचालित तालिममा अग्निसाईर कृष्णासवरन गाउँपालिका, कंचनरुप नगरपालिका, सप्तकोशी नगरपालिकाका गरि ३० जना महिलाहरुको सहभागिता रहेका छ्न ।