न्यूज टुडे
राजविराज, १० चैत ।
कोशी प्रदेश खारेजीको आन्दोलनको क्रममा प्रहरी आक्रमणबाट घाईते लाजेहाङ भनिने पदम लिम्बुको निधन भएको छ । कोशी प्रदेश विरुद्ध विराटनगरमा चैत ५ गते आयोजित बृहत प्रदर्शनको क्रममा प्रहरीको लाठीचार्जबाट गम्भीर घाईते लाजेहाङको शुक्रबार निधन भएको हो ।
प्रहरीको लाठीचार्जबाट टाउकोमा चोट लागि गम्भीर घाईते लिम्बूको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा शुक्रबार विहान साढे २ बजे निधन भएको १ नम्बर प्रदेश पुनः नामाड्ढन संघर्ष समितिले जनाएको छ । घाइते लिम्बूको धरानमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लाने तयारी भईरहेको अवस्था निधन भएको नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । संघीय लोकतान्त्रिक मंच, संघीय लिम्बुवान प्रान्तीय मंच नेपालको सचिवालय सदस्य एवम लिम्बुवान भोलेन्टियर्स मंच एलभीका सह–कमान्डर ४२ बर्षिय लिम्बूको निधनप्रति १ नम्बर प्रदेश पुनः नामाड्ढन संघर्ष समितिले गहिरो दुःख व्यक्त गरेको छ ।
समितिमा आबद्ध पहिचानवादी राजनीतिक दल र विभिन्न घटकमा आवद्ध संघसंस्थाले शुक्रबार संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ । विज्ञाप्तिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कोशी प्रदेश नामाड्ढन गर्ने प्रदेशसभा सदस्य, राजनीति दल र बर्तमान प्रधानमन्त्रीले लिम्बूको हत्याको जिम्मेवारी लिनुपर्ने, विरगती प्राप्त लिम्बूको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग उल्लेख गरेको छ । बिरगतीप्राप्त लिम्बूको कोशी प्रदेश खारेजी सपना साकार गर्ने आन्दोलन जारी रहेकोले अझ सशक्त रुपमा आन्दोलनमा सहभागी हुन अपिल गर्दछौं संयुक्त संघर्ष समितिद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ ।
यसैगरी घटनाको छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग समेत गरिएको छ । २०७९ फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामाड्ढन गरेको विरोधमा पहिचानवादी संघसंस्थाहरु र राजनीति दलका विभिन्न घटकहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरि विरोध र संघर्षको कार्यक्रम जारी राखेका छ्न ।