न्यूज टुडे
राजविराज, ०४ चैत्र ।
नेपाल प्रेस युनियनले सभामुख देवराज घिमिरेले पत्रकारिता पेशा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी ‘पत्रकारहरु बिक्रीमा छन’ भनेर दिएको अभिव्यक्तप्रति आपत्ति जनाएको छ । महासचिव दिलिप पौडेलले शनिबार प्रेस विज्ञाप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञाप्तिमा आफू अनुकुल समाचार नआउदा पत्रकारको मर्यादामा आँच आउने अभिव्यक्ति दिएर सभामुखले सिंगो पत्रकार प्रेसजगतको अपमान गरेको बताएको छ ।
अस्वस्थ प्रतिस्पर्धामा रहेका केही राजनीतिक दलका प्रमुखहरुले आफू अनुकुल समाचार नआउँदा पत्रकारिता क्षेत्रलाईनै बद्नाम गर्ने गरी अभिव्यक्ति दिँदै आएका छन् विज्ञाप्तिमा भनिएको छ, तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर नेपालको स्वतन्त्र प्रेस विरुद्ध दिएको अभिव्यक्ति अपरिपक्क, अशोभनीय हो । सभामुख घिमिरेले पत्रकारमाथी तथ्यहिन आपेक्ष लगाएर ना·ो चरीत्र देखाएको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिकालाई समेत स्मरण गराउन चाहान्छौँ विज्ञाप्तिमा भनिएको छ, पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद हो ।
विज्ञाप्तिमा सभामुखको अपरिपक्व र गैर जिम्मेवार अभिव्यक्तिको घोर निन्दा गर्दै आब उपरान्त यस्ता अभिव्यक्ति नदिन आग्रह गरिएको छ । नेपालको राजनीतिक, सामाजिक, प्रशासनिक लगायतका क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा कमजोरी नभएका होइनन्, महासचिव पौडेलद्वारा जारी विज्ञाप्तिमा भनिएको छ, पत्रकारितामा देखिएका कमी, कमजोरीलाई कानुन बनाएर विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने युनियनको मान्यता छ । तर, सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने गरी अभिव्यक्त विचार निन्दनीय छ । यस्ता अपरिपक्क र गैर जिम्मेवार अभिव्यक्ति नदिन नेपाल प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।
सभामुख घिमिरेलाई पदिय मर्यादामा बसि जवाफदेही विचार राखी पत्रकार र पत्रकारिता पेशालाई सम्मान गर्न नेपाल प्रेस युनियनद्वारा जारी विज्ञाप्तिमा भनिएको छ । प्रेस युनियन लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्दछ । सञ्चार क्षेत्रका समस्यालाई न्यूनिकरण गर्दै व्यावसायिक, जवाफदेही बनाउन नेपालकोे प्रेस जगत प्रतिवद्ध छ , विज्ञाप्तिमा भनिएको छ, अपरिपक्व, गैरजिम्मेवार, अराजनीतिक अभिव्यक्ति नदिन, जवाफदेही रूपमा आफ्ना विचार राख्न, पत्रकारिता पेशालाई सम्मान गर्न नेपाल प्रेस युनियन सम्बन्धित पक्षसँग आग्रह गर्दछ । सभामुख घिमिरेले एक कार्यक्रममा “पत्रकार विक्रीमा छ्न“ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।