न्यूज टुडे
राजविराज, ०५ फागुन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ सितापुर सडकखण्ड आसपासका बस्तीहरुमा चौपाया चोरीको घटना वृद्धि भएको छ । पूर्व–पश्चिम राजमार्गको चाँदानी चौक निवासी मिहिलाल चौधरीको गोठबाट गएराती दुहुनो भैंसी र १ हलगोरु चोरी भएको हो ।
गोठमा साँझ घाँसपानी गरेर बाँधेर राखेको भैंसी र गोरु रातरात चोरी भएको पशुधनी मिहिलाल चौधरीले जानकारी दिए । राती १ बजेतिर निद्राले छोडेपछि गोठमा हेर्नजाँदा भैंसी र गोरु चोरी भएको थाहा पाएको उनले बताए । बाँधेर राखेको दुहुना भैंसी र गोरु गोठमा नभएको थाहा हुनैबितिकै प्रहरीलाई खबर गरी चारैतर्फ खोजि गर्दा समेत पत्ता नलागेको चौधरी जानकारी दिए । यस अघि समेत भैंसी, गोरु, खसी पटक–पटक चोरी भएपनि कतै पत्ता नलागेको बताउँदै चौधरीले प्रहरीलेपनी चोरीमा संलग्नको खोजिमा गम्भीरतापूर्वक चासो नदिएको गुनासो गरे ।
भैंसी र गोरु घरदेखि ५ सय मिटर पश्चिम सडक छेउमा गाडीमा चढाएर लगेको उनले बताए । घरबाट पैलाउँदै जाँदा पाँच सय मिटर पूर्व सकड किनारबाट गाडी चढाएको देखियो, चौधरीले भने, त्यो पनि विहान गाडीको पाग्रा देखेपछि मात्र थाहा भयो, कतिखेर लगे र कुन गाडी हो भन्ने कुरा अहिलेसम्म थाह पत्ता छैन ।
राजमार्ग अन्तर्गतका बस्तीहरुबाट पशु चौपाया चोरी गर्ने गिरोह सक्रिय छन् । चोरहरुले गाडी नै प्रयोग गरेर सडक आसपासका बस्तीहरुबाट दैनिक पशु चौपाया चोरी गरेपनि सुरक्षा निकाय भने मौन देखिएका छन् । चोरी भएको २ किलो मिटर पूर्वमा सशस्त्र प्रहरी बलको बेसक्याम्प सितापुर छ भने ७ किलो मिटरको अन्तरमा प्रहरी कार्यालय छन् । पश्चिमतर्फ ६ किलो मिटरको दूरीमा ईलाका प्रहरी कार्यालय रुपनी छन् ।