• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

बोदेबर्साईन नगरपालिकामा देवरले आफ्नै भाउजूलाई आगो लगाएर हत्या

न्यूज टुडे
राजविराज, २३ माघ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका १ धनगढीका एक युवाले आफ्नै भाउजुमाथि पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको छ । स्थानीय २० बर्षीय प्रमेश्वर साहले २७ बर्षीय भाउजू राज कुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको हो ।

आगोमा जलेर गम्भीर घाईते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार विहान घरमा रोटी पकाईरहेको अबस्थामा प्रमेश्वरले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । राज कुमारीको शरीरको बिभिन्न भाग जलेपछि विराटनगरमा उपचार भईरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

मृतकका श्रीमान्को निवेदनको आधारमा प्रमेश्वरको खोजी कार्य भईरहेको तथा घटनाबारे थप अनुसन्धान जारी राखिएको उनले जानकारी दिए ।

मृतककी पति रविन कुमार साहले आफू कामले बाहिर भएको बेला पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको भन्दै भाइविरुद्व प्रहरीमा उजुरी दिएका छन् ।