विदेशमा अलपत्र परेका आफन्तसहित पत्रकारमाथि आक्रमण गराउने म्यानपावर कम्पनीका संचालकसहित घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आप्रवासी हकहित संजाल मधेस प्रदेशद्वारा ज्ञापन–पत्र बुझाएको छ । संजालद्वारा मधेश प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई बिभिन्न ५ बुँदे माग सहितको ज्ञापन–पत्र पठाएका हुन् ।
मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र प्रसाद सिंह नेतृत्वको टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन–पत्र बुझाएका छन् । संजालको ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यथाशिघ्र सम्बन्धित कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृहमन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबार काठमाडौलाई सम्बोधन गरिएको ज्ञापन–पत्रमा त्रिपल स्टार ईम्प्लोईमेन्ट प्रालिले गुण्डा लगाएर गरे गराएका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्ने, घटनामा परेका आप्रवासी परिवार तथा पत्रकारहरुलाई तत्काल स्वास्थ्य उपचारको ब्यबस्थासहित पीडित पक्षलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने, भिजिट भिसामा बिभिन्न मुलुकमा अलपत्र परेका तथा फसेका नेपाली कामदारहरुलाई तत्काल उद्धार गर्नुपर्ने, भिजिट भिसामा नेपाली कामदारहरु ठगी गर्ने दलालहरु गाउँदेखि केन्द्रसम्म सक्रिय रहेको देखिएकोले त्यस्ता मानव वेचविखन तथा गैरकानुनी कार्य गर्ने गराउनेलाई कानुनको दायरामा ल्याई हदैसम्म कारबाही गर्नुपर्ने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको मार्सल टोलीको कार्यलाई संस्थागत गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
ज्ञापन–पत्रमा माघ १८ गते त्रिपल स्टार ईम्प्लोईमेन्ट प्रालीले पीडित परिवार र पत्रकारहरुलाई गरेको निर्घात कुटपिट र गाली बेईजतीजन्य क्रियाकलापप्रति भत्र्सना समेत गरिएको छ । आप्रवासी हकहित संजालको नेतृत्वको मधेश प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन–पत्र बुझाएको मधेश प्रदेश अध्यक्ष सिंहाले जानकारी गराए ।