डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसित सम्बन्धित माग लिएर बिहीबारदेखि राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । आन्दोलनका क्रममा जिल्लाको भारदह, रुपनीलगायतका स्थानमा बिहानैदेखि जनमत पार्टीका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् ।
राजमार्ग सुचारुकालागि प्रहरीले बल प्रयोग गर्दा सप्तरीको भारदहमा जनमत पार्टीका कार्यकर्ता शंकर खडगा घाइते भएका छन् । भारदहबाट जनमतका नरेश अधिकारी, ललित यादव, पिंकु मण्डल तथा रुपनीबाट रामअवतार यादव, सन्तोष इशर, महेश यादव, कुशेश्वर माझी लगायतका कार्यकर्ता पक्राउ परेको जनमत पार्टीले जानकारी दिएको छ ।
आवागमन सुचारु गराउन राजमार्गमा प्रहरीले ठाउँ–ठाउँमा बल प्रयोग गर्नुपर्दा दिनभर स्थिति तनावपूर्ण बनेको थियो ।
पार्टीले घोषणा गरेको राजमार्ग बन्द सफल पार्न गाउँ–गाउँबाट आएका जनमत पार्टीका कार्यकर्ताहरु बिहानैदेखि प्रदर्शनमा उत्रेका थिए ।

