• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कोरोना न्यूनीकरण गर्ने आधार मास्कको प्रयोग पनि एक हो भनी राजविराजबाट प्रारम्भ भयो मास्क खै अभियान

कोरोना न्यूनीकरण गर्न सबै सचेत हुनुपर्छः प्रजिअ गौतम
कोरोना न्यूनीकरण गर्ने आधार मास्कको प्रयोग पनि एक हो भनी राजविराजबाट प्रारम्भ भयो मास्क खै अभियान

न्यूज टुडे
राजविराज, २८ पुस ।
सप्तरीमा तपाईको मास्क खै अभियान प्रारम्भ भएको छ । राजविराजस्थिति गजेन्द्र चौकमा बुधबार आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाटो हिड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै अभियान शुरु गरेको हो ।

सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायणलाल दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रजिअ गौतमले अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी मुलुकमा अत्यधिक रुपले फैलिंदै गएको छ, प्रजिअ गौतमले भने, कोरोना न्यूनीकरण गर्ने आधार मास्कको प्रयोग पनि एक हो, मास्क प्रयोग अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्छ । प्रजिअ गौतमले सानो लापरबाही र हेलचेक्राईको कारण कोरोना फैलिन सक्ने खतरा भएको भन्दै कोरोना न्यूनीकरण गर्न सबै सचेत हुनुपर्ने आबश्यकता औलाए । गौतमले मास्कको प्रयोग नगर्ने सेवाग्राहीहरुलाई सरकारी सेवाबाट बञ्चित गरिने बताए ।

कोरोनाको पहिलो र दोस्रो लहरमा सप्तरीमा निकै मानवीय क्षति भएको भन्दै उनले सबैको सहयोग र प्रयासबाट तेस्रो लहरमा मानवीय क्षति हुन नदिने विश्वास व्यक्त गरे । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले मास्क प्रयोग गर्न अनुरोध गर्दै अटेर गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिए ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँ लाल यादवले सप्तरीमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकोले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्याब्सन सप्तरीका अध्यक्ष अरुण कुमार देव, एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साह लगायतकाले मन्तव्य व्यक्त गर्दै मास्कको प्रयोगमा जोड दिए ।

सामुदायिक सेवा केन्द्र सप्तरीका सचिव संजय शार्माद्वारा संचालित कार्यक्रममा स्वागत नागरिक सामाज सप्तरीका अध्यक्ष थानासिंह भन्सालीले गरे । सामुदायिक सेवा केन्द्र सप्तरीद्वारा आयोजित कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मीहरु, नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।