• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरकारलाई पूर्णता अलमलमै

माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि विस्तार गरिने भनिएको मन्त्रिपरिषद्ले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री सहित ६ जनाको मन्त्रिपरिषद्ले मात्र अहिले काम गर्दै आएको छ । परराष्ट्रलगायतका विभिन्न मन्त्रालय अहिले पनि खाली नै छन् ।

अधिकांश मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैंस“ग राखेका कारण काममा भ्याईनभ्याई छ । सरकारलाई पूर्णता दिनमा भईरहेको बिलम्बका कारण बाहिर जे भनिए पनि भित्रभित्रै दलहरुमा मन्त्री बन्ने आकांक्षी धेरै रहेका कारण नेताहरुलाई मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्ने निर्णय लिनकालागि पनि सकस भईरहेको छ । यसका साथै कुन पार्टीलाई कति मन्त्रालय दिने, कुन कुन दिने भन्ने बारेमा पनि कुरा मिल्न सकिरहेको छैन ।

मन्त्रीका आकांक्षी धेरै रहेका कारण सकेसम्म बढी मन्त्रालय आफ्ना भागमा परुन् भन्ने हरेक पार्टीको चाहना रहनु स्वाभाविकै हो । तर भागबण्डामा सहमति नभएकै कारणले सरकारलाई पूर्णता दिने सबाललाई धेरै लम्ब्याएर राख्दा पनि यसबाट नकारात्मक सन्देश जान्छ भन्ने बुझ्न जरुरी छ ।

वर्तमान सरकारका बारेमा खासगरी प्रमुख प्रतिपक्षले समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनि टिप्पणी गर्न थालेको छ । सरकारलाई पूर्णता दिन नसक्ने सरकारले कत्तिको काम गर्ला भनेर अहिले प्रमुख प्रतिपक्षले प्रश्न उठाउन थालेको छ । मन्त्रीकालागि भागबण्डाको किचलो झिकेर विवादमा अलमलिनु भन्दा पनि आफूले गरेको प्रतिबद्धता तथा देश र जनताप्रतिको जिम्मेवारी मनन गरी गर्नुपर्ने आवश्यक काममा चासो देखाउन सके मात्र सरकारको काम प्रति जनताको भरोसा बढ्न सक्छ ।

विवाद र अलमलमै समय बिताउने हो भने काम कहिले पूरा गर्न सकिएला ?