• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अस्पतालको सुधार

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा नयाँ अक्सिजन प्लाण्ट जडानको तयारी हुँदैछ । कोरोना संक्रमण बढेका कारण उपचारकालागि विरामीको चाप पनि बढ्ने क्रममा रहेको समयमा यो व्यवस्था गरिनुलाई सकारात्मक नै मान्नु पर्दछ ।

अक्सिजन प्लाण्टको उपकरण आईसकेको तर त्यसको सञ्चालनकालागि प्राबिधिक आई नपुगेका कारण जडानमा केही दिन लाग्ने अस्पताल स्रोतले जानकारी दिएको छ । देशका पुराना मध्येको यस अस्पतालमा विगत केही वर्षदेखि उपचार सेवा खस्कँदै गएको भनि व्यापक जन असन्तुष्टी थियो । यही कारणले यस अस्पताललाई उपचार भन्दा पनि रेफरल सेण्टरका रुपमा लिने गरिन्थ्यो ।

पछि सप्तरी क्षेत्र नं. २ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा अस्पतालमा उपकरण तथा आवश्यक चिकित्सकको पनि पदपूर्ति भएको थियो । तत्पश्चात उपचार सेवामा सुधारका संकेत पनि देखिन थालेका थिए । तर केही दिन यता पहिले ल्याएका उपचारका उपकरण पनि एक एक गरी प्रयोगमा आउन छाडेको भन्ने गुनासो बढ्न थालेको छ ।

कोठामा पानी पसेका कारणले कतिपय उपकरण प्रयोग गर्न सकिने अवस्था नरहेको तथा पिसिआर परीक्षण गर्ने मेशिन पनि बिग्रेका कारण कोरोनाको जाँच नै प्रभावित भएको भन्ने समाचार आएको छ । ती उपकरणलाई शिघ्र सञ्चालनको व्यवस्थाका साथसाथै अहिले आएको अक्सिजन प्लाण्टको पनि सञ्चालनकालागि आवश्यक काम गर्नु पर्ने अहिलेको आवश्यकता हो ।

जनतालाई सस्तो, सुलभ तथा स्तरीय सेवा दिनकालागि सरकारी अस्पतालकै आवश्यकता पर्ने हुन्छ । निजी अस्पतलामा विरामीले चर्को शुल्क तिर्न बाध्य हुनु पर्ने अवस्थाबाट मुक्तिकालागि पनि यस अस्पतालको सेवामा सुधारको आवश्यकता छ ।