लगातारको वर्षाका कारण देशैभरिका खोलानालामा पानीको सतह अहिले बढेको छ । वर्षा लगातार भईरहेका कारण अझै केही दिन बाढी पहिरोको जोखिम रहेका कारण यस्तो बेलामा बढी साबधानीको आवश्यकता छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई मधेशमा बाढीको जोखिम बढी रहने गर्दछ । पानी लगातार परेका कारणले जमिनको माटो गल्दा पहिरो जाने जोखिम पनि बढी रहने गर्दछ । यस्तै पहाडी क्षेत्रमा पानी पर्दा पनि खोलानालाको सतह बढेर त्यसको जोखिम तराई मधेशमा पनि पर्ने गरेका कारण खास गरी नदी तटीय क्षेत्रका बासिन्दाकालागि वढी साबधानीको आवश्यकता छ ।
बाढी आईहालेमा कसरी सुरक्षित स्थानमा जाने भन्ने कुरा यकीन गर्नु भन्दा पहिले बाढीको सूचना कसरी पाउने भन्ने बारेमा व्यवस्था आवश्यक रहन्छ । बाढी आउने सम्भावनाका बारेमा जानकारी भएपछि सुरक्षित स्थानमा गएर बस्ने व्यवस्था मिलाउनु जरुरी रहन्छ । बाढी नपुग्ने स्थानमा बाढीबाट पीडितहरुलाई राख्ने सबालमा स्थानीय तहका जनप्रतिनिधिहरुले तदारुकता देखाउन सके त्यो बढी प्रभावकारी हुन सक्दछ ।
यसरी सुरक्षित स्थानमा पुर्याईएकाहरुकालागि खानपिनको व्यवस्था तथा विरामी पर्दा उपचारको समेत प्रबन्ध मिलाउन जरुरी रहन्छ । यस्तो व्यवस्था पहिले नै तयारी अवस्थामा राख्न सकियो भने यसबाट क्षति कम गर्नमा सघाउ पुग्नेछ । समस्याले घेरिसकेपछि मात्र समाधानको खोजीतिर लाग्दा क्षति बढी हुन सक्दछ ।
सबैभन्दा उत्तम उपाय त बाढीबाट जोगिनकालागि आफ्नै साबधानी बढी प्रभावकारी रहनेमा शंका मान्नु पर्दैन । साबधानी अपनाईएमा मानवीय क्षतिलाई पनि रोक्न मद्दत मिल्नेछ ।