सप्तरीको अग्निसाईर कृष्णसबरण गाउँपालिका २ स्थित चौफालका दुई युवाले व्यावसायिक पशुपालन सुरु गरेर लाखौंको आम्दानी लिन सफल भएका छन् । रोजगारीकालागि खाडी मुलुक गएका उनीहरु त्यहाँबाट फर्केर गाउँमै यो पेशामा आबद्ध भएका हुन् ।
तातो घाममा ज्यानै जोखिममा पारेर अर्काको देशमा पसिना बगाउनु भन्दा उनीहरुलाई अहिले आफ्नै गाउँमा व्यवसाय सुरु गरेर राम्रो कमाई हुन थालेको छ । गाईभैंसी पालेर त्यसको दूध बेचेरै विदेशमा भन्दा आफ्नै गाउँमा राम्रो आम्दानी गर्न सफल भएका उनीहरुको पौरख अरुकालागि पनि अनुकरणीय हुन सक्दछ ।
विदेशको सपना बोकेर बाहिर जाने अनि एजेण्टबाट ठगिने जस्ता घटना पनि नेपालमा प्रशस्त हुने गरेका छन् । आम्दानी नभएका कारण चर्को ब्याजमा ऋणै काढेर भए पनि विदेश जाने होड बढ्दो छ । एकातिर स्वदेशमा युवा जनशक्तिको अभाव अनि अर्कोतिर विदेश गएपछि परिवारजन सितको बिछोडका कारण युवाले स्वदेशमै ईलम गरेर बसे सर्बोत्तम हुने हो ।
सरकारले पनि युवालक्षित रोजगारका कार्यक्रम ल्याउने भनिरहँदा अहिले पनि धेरै युवा बेरोजगार भई बसेका छन् । चौफालका दुई युवाले सुरु गरेको स्वरोजगार कार्यक्रमको अनुशरण गर्न सके अरुकालागि पनि यो काम आम्दानीको गतिलो स्रोत बन्न सक्दछ ।
परिवारजन संगै बसेर गरिएको व्यवसायले छुट्टै खालको आनन्द पनि मिल्ने भएका कारण विदेशको सपना देख्नुभन्दा आफ्नै खुट्टामा उभिने क्षमता बढाउनकालागि पनि यस प्रकारका स्वरोजगारमूलक व्यवसाय उत्तम हुनेमा आशंका मान्नु पर्ने छैन ।