राजविराज नगरपालिकामा पशुचौपायाको बिगबिगी दसकौंदेखि कायम छ । गाई, घोडा, कुकुरदेखि सुँगुरसम्मका कारण नगरको मेनरोड नै भरिभराउ रहँदै आएको छ । पालेका गाईवस्तु पनि छाडा छोड्ने गरिन्छ । तर नगरपालिकाले यसमाथि कडाई गर्न नसक्दा नगरवासी पीडित रहँदै आएका छन् ।
मेनरोड मात्र होईन हाटबजारमा पनि छाडा चौपायाको आतंक बढ्दो छ । किनमेल गर्न गएकाहरुमाथि गाईवस्तुले हान्ने, मानिसको भिडमा चौपायाको भागाभाग रहने गरेका कारण कुनै पनि समय गम्भीर दुर्घटनाको जोखिम बढेको छ । गाईवस्तु मात्र होईन छाडा सुँगुरको आतंक अझै पीडादायी रहने गरेको छ ।
खोरमा थुनेर पाल्नु पर्ने सुँगुरलाई छाडा छोडिदिने गरेका कारण मानिसका करेसा बासीमा क्षति गर्ने, फुसका घर भत्काउने तथा जथाभावी फोहर गरिदिनाले यो एक समस्याका रुपमा रहँदै आएको छ । सुँगुरलाई छाडा नछोड्नकालागि नगरपालिकाले विगतमा पनि आग्रह गरेकै हो । एक दसक जति अघि नगरपालिकाकै सक्रियतामा छाडा सुँगुर मार्ने अभियान पनि चलाईएको थियो । तर पछिल्लो चरणमा जननिर्वाचित प्रतिनिधि आएपछि यसमा चासो देखाएको पाईएन ।
नगरपालिकाले अन्य विकास निर्माणका काम गरेन भन्न नसकिएला । तर नगरवासीमाथि दिनदिनैको समस्या बन्दै गएको छाडा चौपायालाई नियन्त्रणका सबालमा चाहिँ काम नगरेका कारणले पीडा मत्थर हुन सकेको छैन । छाडा चौपाया नियन्त्रणकालागि नगरपालिकालाई कानूनी आधार पनि नरहेको होईन । त्यसमाथि छाडा सुँगुरका कारण रोग फैलिने जोखिम पनि रहने गरेका कारण स्वास्थ्य सम्बेदनशीलताका दृष्टिले पनि यसमाथि कडाईको आवश्यकता छ ।
जनतालाई तत्कालै राहत दिने यस विषयमा नगरपालिकाले आँखा चिम्लन पक्कै पनि मिल्दैन । तसर्थ यस प्रकारको विकृति नियन्त्रणतर्फ तदारुकता देखाउन जरुरी छ ।