• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तस्करको जालो

सप्तरी प्रहरीले दुई दिन अघि हनुमाननगर कंकालिनी नगरपालिका वडा नै १२ बाट भारत तर्फ निकासी गर्दै गरेको अवस्थामा ८५ कार्टुन स्याउ नियन्त्रणमा लिएको छ । चाईनिज उक्त स्याउ नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा एक जना तस्करलाई पनि नियन्त्रणमा लिएर कारवाही अघि बढाएको हो ।

सप्तरीमा स्याउ तस्करी गरेको यो पहिलो पटक मात्र होईन । यसअघि पनि ठूलो परिमाणमा चाईनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको थियो । तस्करी स्याउको मात्र होईन, लागुऔषध, मदिरा आदि पनि भारततर्फ निकासी गर्दा धेरै पटक तस्कर पक्राउ परेका छन् । प्रहरीले सक्रियता देखाएका कारणले नै तस्कर पक्राउ परेका हुन् ।

भन्सार छलेर गरिने यस्तो अबैध धन्दाका पछाडि गिरोहकै सक्रियता छ भन्ने कुरा पटक–पटक यसरी तस्करी गर्दा सामान तथा मानिस पक्राउ पर्दै गएको घटनाले पनि प्रष्ट्याएकै छ । कोरोना संक्रमणका समयमा सीमामा गस्ती बढाउँदा पनि तस्करी नरोकिएका कारण तस्करको जालो कतिसम्म जरो गाडेर बसेको छ भन्ने कुराको पुष्टी मिल्दछ । त्यसमाथि दैनिक उपभोग्य वस्तु, गुट्खा, खैनी, कपडा लगायतका सामान भन्सार छलेर ल्याउँदा बराबर नै पक्राउ परिरहने गरेका छन् ।

राजस्व मारेर कमाउन सुरु गरिएको यस प्रकारको अबैध धन्दामाथि कडाई गरिएन भने यसले सरकारको राजस्व पनि सुकेर जाने निश्चित छ । राजस्व मारा यो धन्दा नरोक्ने हो भने भन्सार सुक्दै जाने अनि तस्कर मोटाउँदै जाने भएका कारणले यसलाई गम्भीरताका साथ लिनु पर्ने हुन्छ ।