सप्तरीका स्थानीय तहका प्रमुखहरुले समानुपातिक विज्ञापन प्रणाली लागु गर्न आफूहरु तत्पर रहेको कुरा बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीले शनिबार राजविराजमा यसबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
विज्ञापनलाई समानुपातिक रुपमा बितरण गर्न एकद्वार प्रणालीको सुरुवात गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले यस्तो प्रतिक्रिया जनाउनुलाई सकारात्मक मान्नु पर्दछ । विज्ञापनमा सबै सञ्चारमाध्यमहरुको समान पहुँच कायम होस् भन्ने धेयलाई व्यवहारमा उतार्नकालागि पनि समानुपातिक प्रणालीको कार्यान्वयन जरुरी छ ।
स्थानीय तहहरुले लिएको विकासको लक्ष पूरा गर्नकालागि स्थानीय पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमको भूमिकालाई अलग्याउन मिल्दैन । यस हिसाबले गणना गर्दा स्थानीय तहहरुले लिएको विकासकालागि सञ्चार माध्यमहरु त्यसको परिपूरक पनि मान्न सकिन्छ । स्थानीय तहहरुका समस्या, जनताकालागि गरिनु पर्ने विकास निर्माणका काममा स्थानीय सञ्चार माध्यमको पनि चासो रहने गर्दछ ।
दूरदराज तथा कुनाकाप्चाका जनताले भोग्नु परेका समस्या, त्यहाँका विकृति लगायतका विषयलाई उठाएर सञ्चार माध्यमहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने भएका कारणले पनि उनीहरुलाई विकासका परिपूरक मानिएको हो । शहर बजारका ठूला सञ्चार माध्यमहरुले ठूला ठूला विज्ञापनमा पहुँच राख्ने भएका कारण उनीहरुको तुलनामा स्थानीय सञ्चार माध्यमहरुले बढी समस्या भोग्नु परिरहेको अवस्था जगजाहेर नै छ ।
स्थानीय तहहरुबाट दिईने विज्ञापन पनि ठूला अखबारमा नै प्रकाशित गर्ने परम्परा अहिले पनि रहेका कारण स्थानीय अखबार समस्यामा नै छन् । स्थानीय तहहरुले तिनको बारेमा सोच्न यस कारण पनि जरुरी छ किनभने उनीहरु परोक्ष रुपमा भए पनि स्थानीय तहहरुकालागि सहयोगी नै हुन् ।