मुलुकभर कोरोना संक्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएको छ । कोरोना प्रभावित जिल्ला मध्ये सप्तरी पनि अछुतो छैन । यहाँ पनि संक्रमितहरुको संख्या बढेकोमा आशंका छैन । यस्तो अवस्थामा पिसिआर परीक्षणमा तिब्रता दिन जरुरी छ ।
कोरोनाका आशंकितलाई परीक्षण गरी वास्तविकता पत्ता लगाएर उनीहरुको उपचार गर्नाका साथै अरुबाट छुट्टै राख्ने व्यवस्था मिलाउन सकियो भने मात्र अरुमा संक्रमण फैलिने जोखिम पनि घटेर जाने हुन्छ । तर यसै समयमा सप्तरीमा कोरोना परीक्षणको कार्य प्रभावित बनेको छ ।
मेशिनमा आएको गडबडीका कारण कोरोनाको सही रिपोर्ट नआउने गरेका कारण परीक्षण प्रभावित भएको हो । दुई सातादेखि मेशिन बिग्रेको भए पनि त्यसको मर्मत वा अर्को मेशिनको व्यवस्था हुन सकिरहेको छैन । सर्वसाधारणको स्वास्थ्यसित सरोकार रहेको कोरोना परीक्षण मेशिन यतिका दिनदेखि बिग्रेको अवस्थामा रहँदा पनि त्यसको विकल्पका बारेमा नसोचिनुलाई जनस्वास्थ्यमाथिकै खेलबाडका रुपमा लिन सकिन्छ ।
प्रदेश २ का अन्य जिल्लामा दुईवटा स्वाब परीक्षण मेशिन रहेता पनि सप्तरी स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एउटा मात्र मेशिन रहेको अवस्था छ । उक्त मेशिन पनि बिग्रेपछि दुई सातादेखि स्वाब परीक्षणको काम बन्द रहेको छ । कोरोना संक्रमणको अवस्था के छ भन्ने पत्ता लगाउनकालागि परीक्षणको विकल्प छैन ।
सप्तरीमा यति बेला कोरोना परीक्षणको काम रोकिएका कारणले भित्रभित्रै यसको संक्रमण भुसको आगो जस्तै सल्किरहेको त छैन ? भन्ने आशंका पनि बढेको छ । भएको मेशिन बिग्रेपछि शिघ्र त्यसको बैकल्पिक व्यवस्था मिलाउने वा त्यसैको तत्कालै मर्मत गर्ने विषयमा ढिलासुस्ती गरिरहने हो भने यसले जोखिम बढाउने छ ।