गठन भएको एक महिना हुँदा पनि वर्तमान सरकारले पूर्णता हासिल गरेको छैन । यही कारणले प्रमुख प्रतिपक्षले पनि वर्तमान सरकारको कार्यशैली सुस्त बनेको भन्न थालेको छ । हुन पनि हो, मुलुकमा एकसेएक समस्या विद्यमान छन् । तिनको समाधानकालागि यति बेला युद्धस्तरमा काम गर्नु पर्ने आवश्यकता छ ।
काममा सुस्ती नै रहने हो भने विगतको सरकारमाथि काम गर्न नसकेको भनि लगाईएको आरोप जनताले वर्तमान सरकारमाथि पनि नलगाउलान् भन्न सकिन्न । खासगरी यति बेला कोरोनाको महामारी उग्र बन्दै गएको छ । दैनिक रुपमा संक्रमितका साथै मृतकहरुको संख्या पनि बढ्दै गएको छ । कोरोना नियन्त्रणकालागि जारी गरिएको निषेधाज्ञा कतिपय जिल्लामा अहिले पनि कायमै छ । यसले गर्दा जनताले अनेक प्रकारका समस्याको सामना गर्नु परिरहेको छ ।
सरकारले यस्तो असहज अवस्थामा तिब्रताका साथ काम गरोस् भन्ने जनताको चाहनालाई अस्वाभाविक भन्न सकिँदैन । सरकारमाथि नै जनताले भरोसा गर्ने भएका कारण सरकारले पनि आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नु जरुरी छ । सरकार मात्र होईन अप्ठ्यारो अवस्था आएको समयमा प्रतिपक्षी दलहरुले पनि साथ दिन जरुरी छ । लोकतन्त्रमा प्रतिपक्षको आवश्यकता बोध गरिनुको कारण उसले सरकारलाई राम्रा काममा रचनात्मक सहयोग अनि नकारात्मक काममा खबरदारी गरोस् भन्ने चाहना राखिएको हुन्छ ।
तथापि अप्ठ्यारो अवस्थामा समस्याको समाधानकालागि अग्रसरता लिने काम प्रमुख रुपमा सरकारकै हो । अहिलेको असहज अवस्थामा पनि सरकारले सुस्त होईन तिब्रताका साथ काममा लाग्न जरुरी छ ।