नेकपा एमाले माधव नेपाल समूहको सप्तरी जिल्लामा बसेको बैठकले सरकारलाई बाढीपीडितहरुको समस्याप्रति ध्यानाकर्षण गराएको छ । बैठकको निर्णय सार्वजनिक गर्दै गत आइतबार राजविराजमा पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ ।
जसअनुसार बाढी तथा पहिरोका कारण समस्यामा परेका जनतालाई राहत, क्षतिपूर्ति तथा बसोबासको व्यवस्था मिलाउनकालागि माग गरिएको छ । हुनत बैठकले अन्य विषयहरुको पनि उठान गरेको छ । तथापि अहिले बाढी पहिरोको समय भएका कारण यस बारेमा उठान गरेका सबाललाई समसामयिक नै मान्नु पर्दछ ।
बाढीका समयमा यस प्रकारका मागहरु प्रायः जसो सबै राजनीतिक दलहरुले उठाउने गरेको देखिने गर्छ । तर तिनै पार्टी जब सरकारमा पुग्छन् त्यति बेला यस प्रकारका समस्याको स्थायी समाधानतिर चासो दिएको चाहिँ कमै देखिन्छ । समस्यामा परेका जनताकालागि त्यति बेला राहत उद्धार वा क्षतिपूर्तिको मुद्दा उठाउनुलाई सान्दर्भिक नै भन्नु पर्दछ ।
यसका साथसाथै समस्याको स्थायी समाधानका उपाय तर्फ पनि चासो लिन जरुरी हुन्छ । उदाहरणकालागि बाढी बस्तीमा पस्ने गरेका कारणबाट नै खास गरी तराई मधेशका बस्तीमा ज्यादा तहस नहस हुने गरेको छ । यस्तो समस्याको स्थायी समाधान भनेको नदी नियन्त्रणको कामलाई प्राथमिकताका साथ अघि बढाउनु नै हो ।
सुक्खा समयमा नदी नियन्त्रणको कामलाई तिब्रताका साथ अघि बढाउन सकियो भने यसबाट वर्षामा जनताले सुरक्षित रहन पाउने छन् । बर्षेनी बाढी त आउँछ नै । त्यसैले बाढीले क्षति गरेको समयमा फेरि पनि राहत क्षतिपूर्ति तथा बसोबासको मुद्दा उठाउँदा मात्र समस्याको समाधान स्थायी रुपमा हुन सक्दैन । स्थायी समाधानमा नै जोड दिनु उत्तम हुनेछ ।